You are here
Home > समाचार > प्रहरीको सफलताः १३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्यामा संलग्न पक्राउ

प्रहरीको सफलताः १३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्यामा संलग्न पक्राउ

१४ आश्विन २०७५, आईतवार १९:११

काठमाडौं –जिल्ला प्रहरी कार्यालय बाँकेले १३ वर्षअघि नेपालगञ्जको सदरलाईनका सुनचाँदी व्यवसायी दीपक हेमकार हत्याकाण्ड उनकै ससुराको योजनामा भएको तथ्य सार्वजनिक गरेको छ।

घटनामा दीपकसहित परिवारका तीनजना र एकजना कामदारको हत्या भएको थियो।प्रदेश-५ प्रहरीले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा दीपकका ससुरा किशोरीलाल सोनीलाई नेपाल-भारत सीमाबाट पक्राउ गरेको हो।

सोनी उत्तर प्रदेश सीतापुर जिल्ला बीसवाह बजार स्थायी घर भएपनि लामो समयदेखि लखनउको प्रियदर्शनी कोलोनीमा बसोबास गर्दै आएका थिए।

२३ फागुन २०६२ को राती नेपालगञ्जको सदरलाइनमा ८२ वर्षका गुलावदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार, ४५ वर्षका सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो।

प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले घटनामा एकजना मुख्य योजनाकार पक्राउ परेको जानकारी दिए। उनले घटनाको थप अनुसन्धानका लागि प्रदेश-२ मा खटिएका एकजना अधिकारीलाई झिकाएको जानकारी दिए।

‘घटनाका मुख्य योजनाकार लामो समयको प्रयासपछि पक्राउ परेका छन्’ उनले भने, ‘थप अनुसन्धानका लागि जानकारी भएका एकजना अधिकारी झिकाएको छु।’

हेमकार परिवारले आफ्नो घरको भुइँतलामा ‘दीप ज्वैलर्स’ सञ्चालन गर्दै आएको थियो। उनको विवाह भएको अर्को वर्ष नै जघन्य हत्या भएको थियो। परिवारका सबै सदस्यको हत्यापछि घटनामा बाँचेकी दीपककी श्रीमती दीपाले घटनाको दुई बर्षपछि ८७ लाखमा सबै सम्पत्ति बेचबिखन गरेर भारत बस्न थालेकी थिईन्।

घटना भएको दिन दीपा माईत भारत गएकी थिईन्। त्यति बेला प्रहरीले गरेको अनुसन्धानमा हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको तथ्य फेला पारेको थियो।

संकटकालको बेला नगरको व्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी ज्वेलर्सबाट नगद र सुनचाँदीसहित करिब २९ लाख बराबरको सम्पत्ति लुटिएको थियो ।

घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो। घटना भएका बेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए। जिल्ला प्रहरीले पनि अनुसन्धान गरेको थियो।

राति सडकमा सेनाको गस्ती भइरहेका बेला भएको घरको माथिल्लो तलामा सुतेका पाँचजनाको हत्या साँच्चिकै रहस्यमय थियो।

  • 4
    Shares