You are here
Home > प्रशासन > कसले गर्दैछ आईजीपी सर्वेन्द्र खनालमाथि प्रायोजित प्रहार ?

कसले गर्दैछ आईजीपी सर्वेन्द्र खनालमाथि प्रायोजित प्रहार ?

१७ भाद्र २०७५, आईतवार ११:२१

काठमाडौ- पछिल्लो समय प्रहरी संगठनमाथि विभिन्न पक्षबाट प्रायोजित आक्रमण शुरू भएको छ । प्रहरीले काम गर्दै गरेको घटनाका विषयलाई लिएर यस्ता आरोप तथा षड्यन्त्रको तानाबाना बुन्न थालेको पाइएको हो।

नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले भनेका छन्, ‘मुलुकमा अपराध न्यूनीकरण भइरहेको छ । आपराधिक क्रियाकलापमा नियन्त्रण भइरहेको छ ।’ तर एकथरीले बलात्कारको मुद्दालाई लिएर खनालको कामलाई प्रभावित पार्ने प्रायोजित प्रोपोगान्डा गर्न थालेका छन् । निर्मला पन्त प्रकरणदेखि विभिन्न ठाउँमा भएका बलात्कारका विषयमा खनालविरुद्ध कालाबजारीया, तस्कर र संगठनमा उनका विरोधीहरू प्रायोजित रूपमा नै लागेका हुन् ।

‘बलात्कार’ अपराधभित्रको सम्भावित घटना हुने भएकाले प्रहरीले यसको पूर्वयोजना थाहा पाउन सक्तैन । सामाजिक अपराध भएका कारणले घटनापछि नै प्रहरीले कारबाहीका प्रक्रियालाई बलियो बनाउँदै लैजाने गरेको छ । कञ्चनपुरमा निर्मला पन्त प्रकरणमा त्यहाँका प्रहरीविरुद्ध नै आन्दोलन भएपछि आईजी खनालले त्यहाँका एसपीलाई नै निलम्बन गरी अनुसन्धानको बाटो खुला गरिसकेका छन् ।

घटना न्यूनीकरणका लागि प्रहरीले प्रयास जारी राखेको हुन्छ । तर बलात्कारजस्ता घटना विश्वका प्रायः देशमा न्यूनीकरण हुन सकेका छैनन् । बरु, त्यसको ग्राफ बढेको देखिन्छ । बलात्कार बढ्नुको मुख्य कारण भनेको चेतना र सुविधाको अभाव पनि हुन्छ । यसमा खनालको कार्यक्षमतालाई प्रश्न उठाउने नियोजित प्रत्याक्रमण भएको बुझिन्छ ।

तस्करी, गुन्डागर्दीमा संलग्नहरूले सिस्टममा प्रहार गर्दा आइजी खनालविरुद्ध सफलता हात पार्न नसकेपछि मिडिया, सामाजिक सञ्जालमा बलात्कारलगायतका सम्भावित घटनालाई उचालेर आक्रमण गराइरहेका छन् । तस्कर, सिन्डिकेटवालाका लागि खनालले प्रहरी कठोर बनाएका कारण अनेक हिसाबबाट प्रत्याक्रमण गराउने प्रयास भइरहेको छ । उच्च स्रोतले भन्यो, ‘जब सुरक्षा बलियो हुँदै जान्छ, तस्करहरूले सल्बलाउने ठाउँ पाउँदैनन् अनि उनीहरू छापामार प्रत्याक्रमणमा सक्रिय हुन्छन् । त्यो भनेको मिडिया र राजनीतिक दलका नेतालाई प्रायोजित आक्रमण गर्न लगाउने ।’

प्रहरी संगठनभित्र रहेको एक किसिमको राजनीतिक प्रतिशोध लिने तत्वले पनि आईजी खनालविरुद्ध अफवाह फैलनेगरी सहयोग गरिरहेको उच्च स्रोतको दाबी छ । संगठनात्मक संरचनालाई मजबुद बनाउँदै अपराध न्यूनीकरण गरिरहेको अवस्था हुने प्रहारका पछाडि अपराध कर्ममा संलग्नहरूको झुन्ड सक्रिय हुन थालेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनबमोजिम काम गरिरहेका खनालको ब्रिफिङलाई पनि अतिरञ्जित हिसाबले प्रचार गरिएको छ । गृहमन्त्रीनिकट स्रोतले भन्यो, ‘देशमा सबै अपराध न्यूनीकरणमा जाँदा बलात्कार कसरी रोक्न सकिन्छ भन्ने सल्लाह भएको थियो, त्यसको हल्लाचाहिँ अर्कै गरियो ।’

इन्काउन्टरका विषयमा पनि खनाललाई विवादमा तान्ने प्रयास गरिएको थियो । तर कुमार घैंटे इन्काउन्टर स्याब्बासी पाएका खनालले अपराध न्यूनीकरणमा प्रहरीमाथि जाइलाग्नेलाई गोली ठोक्नु गलत नहुने त्यसबेलै बताएका थिए । पछिल्लो समय भक्तपुरमा बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुईजनाले प्रहरीमाथि नै आक्रमण गर्दा भएको फायरिङलाई पनि गलत ढंगले प्रचारबाजी गर्न एउटा समूह नै सक्रिय रहेको थियो । तर, गृहमन्त्री थापाले त्यो इन्काउन्टर सही भएको दाबी गरिदिएपछि विरोधीहरूको मुख टालिएको थियो ।  सुशासन न्युज साप्ताहिकमा समाचार छ।

त्यसो त सम्बन्धित विभागीय मन्त्रीसँगको समन्वयमा नै काम गरिरहेका खनाललाई सरकारबाट भने पूर्ण सहयोग रहेको छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रभावित रहेको बताइएको छ । ‘प्रहरी संगठनले प्रभावकारी काम गरेको छ, काम गर्दा अलिअलि आलोचना भइरहेको हुन्छ । आईजी खनाललाई काम गर्ने अख्तियारी सरकारले दिएको हो’, प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री उहाँको सुरक्षाको शैली र योजनासँग प्रभावित हुनुहुन्छ ।’

  • 32
    Shares