You are here
Home > प्रशासन > गुण्डा नाइके दावा लामाविरुद्ध ‘फेक करेन्सी’को अभियोग, भारतीय प्रहरीद्धारा अनुसन्धान सुरु

गुण्डा नाइके दावा लामाविरुद्ध ‘फेक करेन्सी’को अभियोग, भारतीय प्रहरीद्धारा अनुसन्धान सुरु

१७ भाद्र २०७५, आईतवार १६:१०

काठमाडौं-नेपाल प्रहरीको ‘क’ श्रेणीको गुण्डाको सूचीमा रहेका दावा लामालाई भारतीय प्रहरीले ‘फेक करेन्सी’मा अनुसन्धान शुरु गरेको छ।

शनिवार दुबईबाट नेपाल फर्कने क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका काभ्रेली समूहका दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान शुरु गरेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

सुरक्षा अधिकारी स्रोतका अनुसार कलकत्ता प्रहरीको आग्रहमा पक्राउ परेका दावालाई दिल्लीबाट कलकत्ता लगिएको छ ।

‘कलकत्ता प्रहरीमा नक्कली भारतीय रुपैयाँ कारोबार गरेकोबारे एफआईआर (प्राथमिक सूचना रिपोर्ट) दर्ता भएको रहेछ’ नेपालस्थित एक उच्च सुरक्षा अधिकारीले भने, ‘अहिले दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान गरिरहेको सूचना आएको छ ।’

समाचार स्रोतहरुका अनुसार कलकत्ता प्रहरीले ‘फेक करेन्सी’ मुद्दामा दावालाई ‘मोस्ट वाण्टेड’ सूचीमा राखेको थियो । अभियोग पुष्टि भएमा दावालाई भारतीय कानुन अनुसार कारवाही हुनेछ।

को हुन् लामा?

दावा लामा भनेर चिनिए पनि उनको वास्तविक नाम जितेन्द्र तामाङ हो । प्रहरीका अनुसार उनी कुनै समय गणेश लामाको निकट रहेर काठमाडौंको ठमेल क्षेत्रमा हप्ता असुलीमा सक्रिय थिए ।

पछि लामासँग सम्बन्ध बिग्रिएपछि उनले आफ्नो छुट्टै समूह बनाएका थिए ।

काठमाडौं प्रहरी परिसरले बर्गिकरण गरेको गुण्डाहरुको सूचीमा ‘क’ वर्गमा परेका लामालाई पछिल्लो समय नेपाल प्रहरीले पनि खोजी रहेको थियो ।

पछिल्लो समय भारतको सिक्किममा बसेर नेपालमा आपराधिक क्रियाकलाप चलाइरहेको प्रहरीको आशंका थियो ।०७० सालमा ललितपुरका व्यवसायी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोप समेत उनीमाथि लागेको थियो । ०७१ सालमा जोरपाटीबाट खैरो हिरोइनसहित पक्राउ परेपछि उनी १५ महिना जेल समेत बसेका थिए ।

उनी रक्तचन्दन तस्करीमा समेत संलग्न भएको प्रहरीको भनाइ छ ।

  • 5
    Shares