You are here
Home > समाचार > लिबियामा बिद्रोहीबीच हिंस्रक संघर्षबीच चार सय कैदी फरार, अधिकांश गद्दाफीका समर्थक

लिबियामा बिद्रोहीबीच हिंस्रक संघर्षबीच चार सय कैदी फरार, अधिकांश गद्दाफीका समर्थक

१८ भाद्र २०७५, सोमबार १०:००

लिबिया-लिबियाको राजधानी त्रिपोलीमा विद्रोही गुटमा जारी हिंस्रक संघर्षबीच लगभग चार सय कैदी जेलबाट फरार भएको पुलिसले जानकारी दिएको छ ।

पुलिसका अनुसार कैदीले आइन जारा जेलको ढोका तोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ ।

राजधानीमा विद्रोही गुटबीच चलिरहेको घम्साघम्सी देखेर संयुक्त राष्ट्र समर्थित सरकारले त्यहाँ संकटकालको घोषणा गरेको छ ।

आइन जारामा राखिएका धेरैजसो कैदीलाई लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीका समर्थक मानिएको छ । सन् २०११ मा गद्दाफी सरकारविरुद्ध भएको विद्रोहमा ती फरार कैदीहरु मानिसहरुको हत्यामा दोषी पाइएका थिए ।

आपतकालीन सेवा र प्रत्यक्षदर्शीका अनुसार आइतबार राजधानी त्रिपोलीको रिहायशी इलाकामा भएको एक रकेट हमलामा दुईजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा कम्तीमा ३९ को मृत्यु भएको छ । यसमा थुप्रै सर्वसाधारण पनि समावेश छन् ।

लिबियामा साधारणतया संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा रहन्छ तर देशको अधिकांश हिस्सामा चरमपन्थी गुटको नियन्त्रण छ ।

किन भयो हिंसा ?

चरमपन्थीहरुले त्रिपोलीको दक्षिणी इलाकामा हमला गरेपछि त्यहाँका स्थानीय सरकार समर्थित चरमपन्थी गुटुसँग संघर्ष चलिरहेको छ ।

लिबियाको राष्ट्रिय साझा सरकार अर्थात् जिएनएले हिंस्रक झडपलाई देशको राजनीतिक स्थिरता समाप्त गर्ने प्रयास बताउँदै यो राजधानी र सर्वसाधारणको सुरक्षाका लागि खतरा भएको भन्दै आफू यसमा चुप लागेर बस्न नसक्ने बताएका छन् ।

मानवाधिकार संगठनले पनि हिंसाको निन्दा गर्दै उक्त हिंसामा १८ सर्वसाधारणको मृत्यु भएको जसमा चार बच्चा पनि समावेश भएको जानकारी दिएको छ ।बीबीसी

  • 4
    Shares