You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः एसएसपी ज्ञवाली नेतृत्वको सिआईबी टोली महेन्द्रनगरमा

निर्मला हत्या प्रकरणः एसएसपी ज्ञवाली नेतृत्वको सिआईबी टोली महेन्द्रनगरमा

१८ भाद्र २०७५, सोमबार १२:०३

कञ्चनपुर-बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ। प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको हो।

शनिबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र सञ्चारमाध्यममा प्रकाशित भएको थियो। पत्र पढेपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन गरेको प्रधानमन्त्री निकट स्रोत जानकारी दिएको छ।

सीआईबी टोली अनुसन्धानका लागि महेन्द्रनगर पुगेको विषयमा जिल्लास्थित प्रहरी अधिकारीले प्रष्ट पारेका छैनन्।

जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिइरहेको बताए। ‘हामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं’ कडायतले भने, ‘प्राविधिक सहयोगका लागि केन्द्र र संघीय प्रहरी कार्यालयसँग समेत सहयोग लिइरहेका छौं।’

प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ। भदौ ८ गते पक्राउ गरेर सुरुवातमा ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको थियो। भदौ १४ गते प्रहरीले थुनामा राखेरै अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ।

दुवै दिदीबहिनीको बयान सकिएको छ। रोशनीको भदौ बिहीबार र अनिताको आईतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो।

अनुसन्धान अधिकृत एवं प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘बयान लिने क्रम सकिएको छ’, ओझाले भने, ‘अनिताको पोलिग्राफ चेकजाँच गर्ने तयारीमा छौं।’ अनुसन्धानका क्रममा थुनामा रहेका आरोपीले साँचो बोले÷नबोलेको विषयमा चेकजाँच गर्न प्रहरीले उनीहरूको पोलिग्राफ चेकजाँच गर्ने गरेको छ।

अनुसन्धानकै लागि प्रहरी थुनामा रहेका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ। प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्यलगायत परीक्षण गर्न काठमाडौ लगेको हो। ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • 22
    Shares