You are here
Home > समाचार > ई–सेवा कम्पनीका सीईओ असगर अलीविरुद्ध उजुरी

ई–सेवा कम्पनीका सीईओ असगर अलीविरुद्ध उजुरी

१८ भाद्र २०७५, सोमबार १४:३०

काठमाडौं–प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईटी विज्ञको रुपमा कार्यरत पेमेन्ट गेटवेको काम गर्दै आएको ई–सेवा कम्पनीका सीईओ असगर अलीविरुद्ध उजुरी परेको छ ।

काठमाडौंका जनकराज शर्माले उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै उजुरी परेको हो। राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीको दर्ता नम्बर १०५, अख्तियारमा परेको उजुरीको २३५७ र प्रधानमन्त्री कार्यालयमा परेको उजुरीको दर्ता नम्बर २०७३ रहेको छ ।

उजुरीमा अलीले प्रधानमन्त्री कार्यालयको आईटी विशेषज्ञ भएको फाइदा उठाउँदै उनले राजनीतिक शक्तिको आडमा सरकारको विभिन्न विभाग तथा मन्त्रालयलयहरुका अधिकारीहरुलाई प्रभावमा पारेर इ–सेवाको व्यापार विस्तार हुने गरी सफ्टवेयरहरु त्यसअन्तर्गत सहभागि गराई पेमेन्ट गेटवेको काम गर्दै आएको उल्लेख छ ।

उनले सरकारको स्वामित्वमा भएको पेमेन्ट टेक्नोलोजीलाई प्राथमिकता नदिई जनताको पैसा इ–सेवामा राख्न लगाई इ–बैंकिङ सञ्चालन गर्दै आएको दाबीसहित उजुरीमा भनिएको छ, ‘यसको प्रमाणको रुपमा कृषि विकास बैंक र इसेवा अन्तर्गतकै एफवान सफ्ट बीच भएको इन्टरनेट बैंकिङ सम्झौता रहेको छ ।’

अली हाल परराष्ट्र मन्त्रालय अन्तर्गतकै पासपोर्टको सबै डाटा, श्रम विभागसँग भएका डाटाहरु, यातायात व्यवस्था विभाग अन्तर्गतको ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र, अध्यागमनलगायत अन्य निकायसँग सर्वसाधारणको सुरक्षित डाटा संकलनमा लागिपरेको पनि उजुरीमा दाबी गरिएको छ ।