You are here
Home > समाचार > लेबनानमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा

लेबनानमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा

१९ भाद्र २०७५, मंगलवार १६:४३

काठमाडौं-लेबनानको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले समकक्षी याकुव रियाद सर्राफसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र लेबनानबीच रहँदै आएको पुरानो सम्बन्ध र लेबनानको शान्तिप्रक्रियामा नेपाली सेनाले पुर्याएको योगदानलगायत आपसी हितका विषयमा छलफल भएको छ।

छलफलक्रममा लेबनानका रक्षामन्त्री सर्राफले सन् १९५८ देखि यहाँको शान्तिसुरक्षामा योगदान दिँदै आएका नेपाली सेनाको प्रशंसा गर्दै शान्तिबहाली क्रममा वीरगति प्राप्त सेना जवान तथा अधिकृतका परिवारलाई लेबनानी नागरिक सरह सम्मान दिइने बताए ।

नागरिकसरहको सेवा सुविधासहितको सम्मानका लागि लेबनानी सरकारले प्रक्रिया अगाडि बढाइसकेको जानकारी मन्त्री सर्राफले उपप्रधानमन्त्री पोखरेललाई दिए । ६२ वर्षको अन्तरालमा २९ नेपाली सेनाले लेबनान शान्तिक्रममा वीरगति प्राप्त गरिसकेका छन् ।

लेबनान शान्तिका लागि ५ हजार भन्दा बढी नेपाली सेनाले विभिन्न स्थान पुगेर जनतासँग भिज्दै गरेको काम कुनै असली राजदूतको भन्दा कम नभएको मन्त्री सर्राफको भनाइ थियो। ‘लेबनानमा शान्ति बहालीका लागि अन्य मुलुकका सेनाले काम गरे पनि नेपाली सेनाप्रति लेबनानीको छुट्टै सम्मान रहेको महसुस हामीले गरेका छौँ,’ मन्त्री सर्राफले भने, ‘यसबाट दुईपक्षीय जनस्तरको सम्बन्ध विस्तारमा ठूलो भूमिका निर्वाह भएको छ ।’

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले लेबनानको शान्तिका लागि नेपाल सद्धैव तत्पर रहेको बताए। आफ्नो तवरबाट सधैँ सहयोग रहिरहने विश्वास दिलाउँदैं उनले शान्त, समृद्ध र स्थिर लेबनानका पक्षमा लामो समयदेखि नेपालले आफ्नो धारणा राख्दै आएको र त्यसमै अडिग रहेको बताएका थिए।

उपप्रधानमन्त्री पोखरेलले लामो अस्थिरतापछि शान्त उन्मुख लेबनानको शान्तिको कामना गर्दै निर्वाचनबाट नै शान्ति र राजनीतिक स्थायित्व रहने बताउँदै भने, ‘यो नेपालको अनुभव हो, नेपाल पनि १२ वर्षसम्म द्वन्द्वको अवस्थामा थियो, अहिले शान्तिको दिशामा छ ।’ लेबनानका रक्षामन्त्री सर्राफलाई नेपाल भ्रमणका निम्तो दिँदै उपप्रधानमन्त्री पोखरेलले लेबनानी आर्म फोर्सका अधिकारीलाई नेपालमा कमाण्ड तालिम, प्याराबेसिक तालिमलगायतका नेपाली सेनाले उपलब्ध गराउने विशिष्ट सैनिक तालिममा सरिक गराउन प्रस्ताव गरेका थियो ।

नेपालले लेबनानमा दुईपक्षीय कुटनीतिक सम्बन्ध स्थापना हुनु अघि नै सेनाका टोली शान्ति स्थापनाका लागि खटिएका थिए । नेपाल र लेबनानबीच सन् १९६३ मा कुटनीतिक सम्बन्ध विस्तार भएको थियो ।