You are here
Home > समाचार > आतंकवादसम्बन्धी महासन्धि स्वीकृत

आतंकवादसम्बन्धी महासन्धि स्वीकृत

१९ भाद्र २०७५, मंगलवार २०:११

काठमाडौं –राष्ट्रियसभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसदले आतङ्कवाद नियन्त्रण नगर्ने हो भने शान्तिसुरक्षामा खलल आउने भएकाले महासन्धि स्वीकृत हुनुपर्नेमा जोड दिए ।  छलफलमा सांसद रामनारायण विडारी, जीतेन्द्रनारायण देव र बिमला राई पौडेलले भाग लिनुभएको थियो ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदैं गृहमन्त्री थापाले शान्ति तथा अमनचयन कायम गर्न महासन्धिको आवश्यकता रहेको बताए । त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ र ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन’को आज टेबुल गरे ।