You are here
Home > समाचार > चितवनमा दुई किलो सुन बरामद

चितवनमा दुई किलो सुन बरामद

२० भाद्र २०७५, बुधबार १२:५१

चितवन-नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई बुधबार सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र १२ लाख नगद सार्वजनिक गरेको हो ।

पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई सार्वजनिक गरिएको हो ।

सो अवसरमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएको बताए। पाटिलले अवैधरुपमा ल्याएको सुन बिक्री गरेको रु १२ लाख प्रहरीले बरामद गरेको जनाएको छ ।

सो अवसरमा दिइएको जानकारीअनुसार रसुवा जिल्लास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैधरुपमा सुन भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका पाटिलले उक्त सुन एक भारतीय नागरिकबाट खरीद गरेको बयानमा बताएका छन् । नियन्त्रणमा लिइएको सुन, चाँदी बजार मूल्यअनुसार एक करोड बराबरको रहेको छ ।

बरामद गरिएको सुन, चाँदी, नगद र पक्राउ परेका व्यक्तिसमेतलाई प्रारम्भिक अनुसन्धानपश्चात् भन्सार ऐन २०७४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइने प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

  • 5
    Shares