You are here
Home > प्रशासन > ड्राइभरलाई रेस्टका लागि घर बनाइदिँदै गृहमन्त्री थापा र आइजीपि खनाल, विभिन्न १४ ठाउँमा बन्नेछन् ड्राईभर सुत्ने घर

ड्राइभरलाई रेस्टका लागि घर बनाइदिँदै गृहमन्त्री थापा र आइजीपि खनाल, विभिन्न १४ ठाउँमा बन्नेछन् ड्राईभर सुत्ने घर

२० भाद्र २०७५, बुधबार १६:५८

काठमाडौं-यात्रामा रहेको बेलामा निदाउन नदिनको लागि सरकारले चालकलाई आराम स्थानको स्थापना गर्ने अभियान सुरु गर्ने भएको छ। सरकारले सार्वजनिक सवारी सधानका चालक र सहचालकलाई विशेष गरी आराम स्थलको स्थापना गर्ने अभियान सुरु गर्ने भएको हो। सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ। गृहका अनुसार केही स्थानमा आराम स्थलहरु सञ्चालनमा समेत आइसकेका छन् ।

सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने उद्देश्यका साथ आराम स्थलको स्थापना गर्न लागिको गृहले जानकारी दिएको छ । चालकको लापरवाही तथा थकानका कारण सवारी दुर्घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ। आराम स्थलको स्थापना भएपछि सवारी दुर्घटनामा पनि कमी आउने अपेक्षा गृह मन्त्रालयले गरेको छ।

चालक थकानका कारण निधाएर दुर्घटना हुने क्रम बढेकाले एकैछिन भए पनि आराम दिनसके दुर्घटना कमी आउने उदेश्यका साथ आराम स्थल स्थापना गर्न लागिको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।

आराम स्थलले दुर्घटना न्यूनीकरण गर्ने,चालक, सहचालक तथा यात्रुलाई अनुशासन सिकाउने नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले बताए। आगामी दिनमा राजमार्गका प्रमुख स्थानमा यस्ता आराम स्थलहरु विस्तार गर्दै लैजाने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउन जारी गरेको १० बुँदे प्राथमिकताको आधारमा सात प्रदेशको १४ स्थानमा उक्त स्थल स्थापना गर्न लागिएको हो।

  • 6
    Shares