You are here
Home > समाचार > गृहले प्रहरीमा छड्के हान्ने

गृहले प्रहरीमा छड्के हान्ने

२१ भाद्र २०७५, बिहीबार ०७:३४

काठमाडौं – गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयका कार्यशैली तथा गतिविधि अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ। प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली बनाएको हो। टोलीलाई देशभरका प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी अधिकारीको गतिविधि अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।

मन्त्रालयमा प्रहरी कर्मचारीविरुद्ध धेरै उजुरी पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीको कामकारबाहीबारे छड्के (क्रसचेक) गर्न अनुगमन टोली गठन गरेका हुन्। गृहमन्त्री थापाले गत साता गठन गरेको टोलीमा सहसचिव सुवदीसहित गृह मन्त्रालयका उपसचिव सदस्य छन्।

टोलीले सुरक्षा संगठनभित्र आचारसंहिता पालनाका सम्बन्धमा अनुगमन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ। ‘सुरक्षा संगठनको छविमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले टोलीले त्यसलाई रोक्न, कमजोरी भए सच्याउन तथा कारबाहीको सिफारिस गर्नेछ’, मन्त्रालय स्रोतले भन्यो । प्रहरीलाई छड्के गर्ने निकाय गृह मन्त्रालय भए पनि मन्त्रालयले प्रहरीका कुनै पनि कार्यालयको अनुगमन नगरेको र प्रहरी रिपोर्टिङका आधारमा सबै विश्वास गर्नुपर्ने बाध्यता रहेकाले अनुगमन टोली गठन गरेको जनाइएको छ।

‘प्रहरी कसरी बसेको छ, केके काम गरिरहेको छ, कामको प्रकृतिमा पूर्वाग्रही भएको छ कि वा प्रहरी व्यवहारप्रति जनताको विश्वास कम भएको हो कि? यी प्रश्नको निरूपण खोज्ने दायित्व गृह मन्त्रालयको हो’, गृह स्रोतले भन्यो, ‘तर गृहका कर्मचारी कहिल्यै फिल्डमा गएर त्यसको जानकारी लिएको देखिएन, सधैं गुनासो मात्रै आइरह्यो ।’

पछिल्लोपटक प्रहरीको कार्यसम्पादनबारे जनतामा आक्रोश बढेपछि गृह मन्त्रालयको समेत आलोचना हुन थालेको छ। राजधानीको काँडाघारीबाट अपहृत बालक निशान खड्काको हत्यारामाथि गरिएको ‘फेक इन्काउन्टर’ तथा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सन्दर्भमा प्रहरी अनुसन्धानप्रति जनताले चित्त बुझाउन नसक्दा आक्रोश बढेको थियो।

प्रहरी अधिकृतहरू आर्थिक लेनदेनमा संलग्न भएको, प्रहरी कार्यालयमा उजुरी लिन नमानेको तथा सर्वसाधारणले प्रहरी कार्यालयमा जाँदा गाली खानुपरेको जस्ता उजुरी परेपछि मन्त्रालय देशभरकै प्रहरी कार्यालय र त्यसका प्रमुखमाथि छड्के गर्नुपर्ने निष्कर्षमा पुगेको थियो। प्रहरी प्रधान कार्यालय आफंैले पनि संगठनभित्र शुद्धीकरण अभियान सञ्चालन गरिरहेको छ। प्रधान कार्यालयले गरेको अभियानमा हस्तक्षेप नहुने गरी अनुगमन टोली गठन गरेको मन्त्रालय स्रोतले जनाएको छ।

‘अनुगमन गर्ने प्रणाली पहिलेदेखि नै छ, त्यसलाई अझ प्रभावकारी बनाउने कि भन्ने हो। प्रहरी संगठन हामी सबैको भएकाले त्यसलाई बलियो बनाइयो भने मुलुकमा सुशासन हुन्छ, यसमा मन्त्रालय दृढ छ’, प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले भने। उनका अनुसार प्रहरीभित्र हुने गरेका विकृतिलाई पहिचान गरी त्यसको निरूपणमा मन्त्रालय लाग्नेछ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीले र केन्द्रमा गृह मन्त्रालयले विगतदेखि नै अनुगमन गर्दै आए पनि त्यो प्रभावकारी नभएको गुनासो आएकाले टोलीले सीधै तल्लो तहसम्म पुगेर प्रहरी कार्यसम्पादनबारे छड्के गर्नेछ।नागरिक दैनिकबाट

  • 9
    Shares