You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः प्रहरीको लापरवाही रहेको छानविन समितिको ठहर

निर्मला हत्या प्रकरणः प्रहरीको लापरवाही रहेको छानविन समितिको ठहर

२२ भाद्र २०७५, शुक्रबार १६:४६

कञ्चनपुर-कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याकोे अनुसन्धानमा प्रहरीको लापरवाही देखिएको उच्चस्तरीय छानविन समितिले ठहर गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापर्वाही गरेको बताए । उनले अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट हुनुपर्ने काम नभएर नहुने काम गरेको देखिएको बताए।प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको छानविन समितिको निश्कर्ष छ ।

उनका अनुसार तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमजोरी देखिएकाले निलम्बन गरिएको हो। ‘सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले तत्काल प्रहरी प्रमुखलाई निलम्बन गर्न सिफारिस गरेका हौं’ छानविन समितिका संयोजक मैनालीले भने, ‘अनुसन्धानमा खटिएका प्रहरीहरुसँग सोधपुछ हुन्छ ।’

अनुसन्धानमा खटिएका अन्य प्रहरीको पनि त्रुटी भेटिए कारबाहीका लागि सिफारिस गर्ने उनले बताए । हत्याको विरोधमा भएको आन्दोलनमा समेत बढी बल प्रयोग भएको छानविन समितिको निष्कर्ष छ ।

छानविन टोली आजै काठमाडौं फर्किँदैछ । समितिको म्याद आजै सकिने भए पनि ३र४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने संयोजक मैनालीले बनाए ।

१३ वर्षीया बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।