You are here
Home > राजनीति > सीमामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

सीमामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

२३ भाद्र २०७५, शनिबार ०७:३६

काठमाडौं-नेपाल–भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए ।
सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ ।

दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना घट्न नदिने प्रतिबद्धतासमेत जनाएका थिए ।

दाहाल बिहीबार भारत प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अधिकारीहरूसँग भेटघाटको सूची छ । दाहालले शुक्रबार भारतीय गृहमन्त्री सिंहसँग भेट गरेका थिए ।

भेटका क्रममा नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । दुई देशबीच अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । भेटमा दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

दाहालले शुक्रबार बिहान प्रवासी नेपालीसँग छलफल गरेका थिए । सो क्रममा प्रवासी नेपालीहरूले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे गुनासो गरेका थिए ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशीमन्त्रीसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । भारत भ्रमणअघि उनले आफ्नो भ्रमण राष्ट्रिय हित र विकास निर्माणमा मात्र केन्द्रित हुने बताएका थिए । भारत भ्रमणबाट फर्किएलगत्तै दाहाल उत्तरी छिमेकी चीन भ्रमणमा जाने कार्यतालिका तय भइसकेको छ ।राजधानी दैनिकबाट

  • 29
    Shares