You are here
Home > समाचार > नेपाली सेनाले गर्यो सात करोडको विचित्र खरिद

नेपाली सेनाले गर्यो सात करोडको विचित्र खरिद

२३ भाद्र २०७५, शनिबार १३:०९

काठमाडौं-नेपाली सेनाको कमाण्ड का.मु. प्रधानसेनापतिले  पूर्णचन्द्र थापाले सम्हालेपछि काम गर्ने शैलीमा परिवर्तन हुने संकेतहरु देखा पर्न थालेका छन् । सैनिक हेडक्वार्टर स्रोतका अनुसार, संयुक्त राष्ट्र संघको मिशनमा खटिएको नेपाली शान्ति सेना टोलीका लागि आवश्यक बन्दोबस्तीका सामानहरु १० दिनभित्रै खरिद गर्ने टुंगोमा सेना र रक्षा मन्त्रालय पुगेको खबर छ ।

स्रोतका अनुसार, कंगो मिशनमा खटिएको शान्ति सेनाको नेपाली टोलीका लागि तत्कालै आवश्यक पिकअप भ्यान, ट्रैकटर, कन्टेनर, जेनेटरहरु एक महिनाभित्रै परिपूर्ति नगरेमा नेपाली सेनाको शान्ति मिशन संयुक्त राष्ट्र संघ फर्काइदिने चेतावनी दिएपछि उल्लेखित सामानहरु विदेशमै कोटेशनको आधारमा १० दिनभित्रै खरिद सम्पन्न गरिएको थाहा भएको छ ।

हाललाई नेपाली सेनाको कल्याणकारी कोषबाट खरिद गर्ने र पछि संंयुक्त राष्ट्र संघको शान्ति मिशनबाट खर्च भएको रकम शोधभर्ना पाइने भएकाले नेपाली सेनाको इज्जत जोगाउन र समयमै अति जरुरी र आवश्यक भेइकलहरु तत्कालै आपूर्ति गर्नका लागि विदेशमै खरिद गर्न सेना बाध्य भएको रक्षा स्रोतले बताएको छ ।

स्रोतका अनुसार, शान्ति सेना कार्यरत रहेको नजिकैको देशमा यसरी सैन्य सामग्री खरिद गर्दा आपूर्ति समयमै हुने, भाडा वापत(सिपि¨ चार्ज)लगायतमा लाग्ने दशौं लाख रकम पनि जोगिने भएकाले विदेशमै खरिद गर्दा राष्ट्रलाई फाइदा पुग्ने दावी स्रोतको छ ।

नेपालमा टेण्डर, कोटेशन जे प्रक्रियाबाट खरिद गरेतापनि सप्लायर्सले घटीमा १२ महिनाको समय लगाउने र नेपालबाट यूएन शान्ति मिशनमा सैन्य सामग्री पु¥याउन ३ महिनाभन्दा बढी समय लाग्ने भएकाले यस पटक शान्ति सेना खटिएको नजिकैको देशबाट खरिद गरिएको रक्षा मन्त्रालय स्रोत  बताउछ ।

२०७५ भदौको पहिलो हप्ता शान्ति सेनामा कार्यरत टोलीका लागि सैन्य सामग्री खरिद गर्न नेपाली सेनाका उपरथी सुवर्ण शाहको नेतृत्वमा रक्षा मन्त्रालयका सहसचिव तुलसी सेंढाई, सेनाकै सहायक रथी ध्रुव खत्री र सेनाकै अन्य प्राविधिक सैनिक अधिकृतहरुलगायत संलग्न टोली केन्या पुगेर १० दिनमै खरिदको काम फत्ते गरेर फर्किएको थाहा भएको छ ।

उपरथी शाहको नेतृत्वको टोलीले प्राविधिक पक्ष, गुणस्तरलगायत सबै चेकजाँच  गरेर १४ थान पिकअप, २ थान ट्रैक्टर, एक थान कन्टेनर(१० चक्के ट्रक), र पाँच  थान जेनेटरलगायत सबै सामग्री जापानमा बनेका खरिद गरेको थाहा भएको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार, सबै सामानको स्टीमेट रकमभन्दा लगभग सवालाख यूएस डलर सस्तोमा करीब रु. ७ करोडको खरिद गरिएको थाहा भएको छ । स्रोतका अनुसार, उल्लेखित भेइकलहरु नेपालमै खरिद गरेको भए लगभग रु. २२ करोड खर्च हुने थियो ।

नेपाली सेनाको शान्ति मिशन कार्यरत कंगो नजिकैको देश केन्याबाट उपरोक्त सामानहरु खरिद स्वीकृत भएकाले नेपाल राष्ट्र बैंकले एलसी खोल्नका लागि पनि स्वीकृति दिइसकेको रक्षा मन्त्रालय स्रोतबाट थाहा भएको छ । साँघु साप्ताहिक