You are here
Home > समाचार > प्रहरी हवल्दारको गुनासो, ‘कम्तीमा श्रीमतीको अगाडि त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो’

प्रहरी हवल्दारको गुनासो, ‘कम्तीमा श्रीमतीको अगाडि त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो’

२४ भाद्र २०७५, आईतवार १०:४३

काठमाडौं-तीन वर्षअघि प्रहरीले संगठनमा आन्तरिक सर्वेक्षण गरेको थियो । जसमा तल्लो तहका प्रहरीले आफूहरूलाई माथिल्ला तहका कर्मचारीले निकै रुखो व्यवहार गर्ने गुनासो पोखे ।

‘कम्तीमा श्रीमतीको अगाडि त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो,’ एक प्रहरी हवल्दारको गुनासो थियो, ‘हाकिमबाट सधैँ नोकरको जस्तो व्यवहारले साह्रै चित्त दुख्छ ।’ अन्य प्रहरीले पनि माथिल्लो तहका अधिकृतले व्यवहार राम्रो नभएको बताएका थिए ।

प्रहरीको योजना अन्वेषण निर्देशनालयले तयार पारेको रिपोर्टमा प्रहरीभित्रकै व्यवहार सुधार गर्न आवश्यक देखिएको छ । ‘प्रहरी मेरो साथी’ कार्यक्रमको उद्घाटनमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले माथिल्ला अधिकृतले सिपाहीलाई ‘तपाईं’ भनेर सम्बोधन गरी व्यवहारमा सुधार आफैैँबाट सुरु गर्न सुझाब दिएका थिए । प्रहरीमा ठूलो संख्या सिपाही र हवल्दार छन् । उनीहरूप्रति हाकिमहरूको व्यवहार त राम्रो हुँदैन नै साथै बोलीसमेत निकै रुखो हुने गरेको छ ।

गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रहरीका हाकिमहरूले नै आफ्ना सिपाही, हवल्दारलाई राम्रो व्यवहार गर्दैनन्, अनि सिपाही–हवल्दारबाट चाहिँ जनताले कसरी राम्रो व्यवहारको अपेक्षा गर्न सकिन्छ ?’

पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल समाजभन्दा प्रहरी पृथक् हुन नसक्ने बताउँछन् । ‘प्रहरी समाजको प्रतिबिम्ब हो,’ उनी भन्छन्, ‘समाजमा परिवर्तनको जुन गति हुन्छ, प्रहरीमा पनि त्यहीअनुसार परिवर्तन आउँछ ।’ नयाँ पत्रिका दैनिकबाट

  • 35
    Shares