You are here
Home > प्रशासन > अख्तियारमा १९ हजार भन्दा बढी उजुरी, १२ हजार ४०० फस्र्योट

अख्तियारमा १९ हजार भन्दा बढी उजुरी, १२ हजार ४०० फस्र्योट

२५ भाद्र २०७५, सोमबार २०:०९

काठमाडौं –आर्थिक वर्ष २०७४\७५ मा १९ हजार ४ सय ६६ उजुरी मध्ये १२ हजार ४ सय उजुरी फस्र्योट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार आयोजना गरेको आर्थिक वर्ष २०७४\७५ को बार्षिक समीक्षा गोष्ठी सो जानकारी दिएको हो। जसमध्ये ६ हजार ४ सय ५८ थान उजुरी प्रारम्भिक छानविनका लागि तामेलिमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

त्यसैगरी ५ सय ४६ थान उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको बताइएको छ भने ५ सय ८७ थान उजुरी अन्य उजुरीमा गाभिएको आयोगले जनाएको छ। आयोगले ४ हजार ५ सय ४७ वटा उजुरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएका छन्।

त्यसैगरी १२ हजार ४ सय उजुरी फच्र्योट भई बाँकी रहेका ७ हजार ८८ उजुरीहरु भने चालु आर्थिक वर्षका लागि सरेर आएका छन्।
आर्थिक वर्ष २०७४\७५ मा परेका विभिन्न मन्त्रालयगत उजुरीहरूको संख्या हेर्दा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १८.३२ प्रतिशत, संघीय मामिलासँग सम्बन्धित उजुरी १८ प्रतिशत, भूमिसम्बन्धी उजुरी करिब ६.५ प्रतिशत, वनसँग सम्बन्धित उजुरी करिब ४.५ प्रतिशत, स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४.३७ प्रतिशत र अन्य निकायसँग सम्बन्धित उजुरी ३८.८ प्रतिशत रहेका छन्।

आर्थिक वर्ष २०७४\७५ मा सेवाग्राहीहरूको उजुरीका आधारमा गरिएका ९७ वटा उजुरीमा १५४ जना राष्ट्रसेवक तथा अन्य व्यक्तिहरूलाई रङ्गेहात नियन्त्रणमा अनुसन्धान गरिएको छ। रङ्गेहात कारबाहीमा पर्नेहरूमा सहसचिव ३ जना, उपसचिव ७ जना, प्रहरी नायव उपरीक्षक १ जना, शाखा अधिकृत २२ जना, इञ्जिनियर १३ जना र राजपत्र अनंकित र सहायकस्तरका कर्मचारीहरूसहित अन्य व्यक्तिहरू १०८ जना रहेको आयोगका सह सचिव तथा प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा सहयोग पुर्याएको बताए। उनले संवैधानिक निकाय भएकाले आयोगको गरिमालाई ध्यानमा राखेर सक्रियता र सजगतापूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

भ्रष्टाचारजन्य कार्यउपरको अनुसन्धान पूर्ण, परिपक्व र प्रमाणमा आधारित हुनुपर्ने तथ्यमा जोड दिंदै प्रमुख आयुक्त घिमिरेले कर्मचारीहरुले आफूलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न तथा उजुरी फर्छ्यौट कार्यलाई तिब्रता दिन निर्देशन दिएका हुन्।

आयोगका कार्यवाहक प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरे, आयुक्तहरु डा. गणेशराज जोशी, श्री राजनारायण पाठक र डा. सावित्री थापा गुरुङ तथा सचिव महेश्वर न्यौपानेको सहभागिता रहेको गोष्ठीमा सहसचिव एवं नीति योजना तथा अन्तराष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख रामेश्वर दंगालले आयोगको समग्र प्रगति प्रस्तुत गरेका थिए।

आयोगका इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर र नेपालगञ्ज स्थित कार्यालयहरूको तर्फबाट आर्थिक वर्ष २०७४\७५ मा सम्पादन भएका कार्यहरूको प्रगति, कार्यसम्पादनका क्रममा अनुभूत समस्याहरू र आगामी कार्यदिशाका बिषयमा प्रस्तुतीकरण गरिएको थियो।

सोही अवसरमा आयुक्तहरु डा. गणेशराज जोशी, राजनारायण पाठक र डा.सावित्री थापा गुरुङले अख्तियारप्रतिको जन विश्वासलाई कायम राखेर सरोकारवालाबाट प्राप्त सुझावहरू र कार्यसम्पादनको क्रममा अनुभव गरिएका समस्या र चुनौतीहरूबाट पृष्ठपोषण लिई उपयुक्त कार्यविधि, प्रविधि र क्षमता अभिवृद्धिका उपाय अवलम्बन गरि आगामी दिनमा कार्यसम्पादनमा अझै सुधार गर्दै जानुपर्ने कुरामा जोड दिए।
अयोगका सचिव महेश्वर न्यौपानेले गोष्ठीमा उठेका विषयवस्तुमाथि प्रकाश पारेका थिए।

  • 17
    Shares