You are here
Home > प्रशासन > नरभक्षी चितुवा मार्न ८० जना सुरक्षाकर्मी परिचालन

नरभक्षी चितुवा मार्न ८० जना सुरक्षाकर्मी परिचालन

२६ भाद्र २०७५, मंगलवार १९:५२

अर्घाखाँची-अर्घाखाँचीको किमडाडा क्षेत्रमा नरभक्षी चितुवाका मार्न ८० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

सोमबार दिउँसो साढे तीन बजे सन्धिखर्क नगरपालिका–८ किमडाडाको नेपाली चौरमा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएपछि विशेष सुरक्षा टोली परिचालन गरिएको हो ।

स्थानीय प्रशासनले चितुवा मार्न नेपाली सेनाका ४०, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीको १५ जनासहित ८० जनाको बिशेष टोली परिचालन गरेको हो।सेना र प्रहरीसँगै जिल्ला वन कार्यलयको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयबासिन्दा मिलेर चितुवाको खोजी गरिरहेका छन।

सन्धिखर्क नगरपालिका–१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ वर्षीया सदीक्षा रानाको तीजमा मामाघर जाँदै गर्दा चितुवाले ज्यान लिएपछि किमडाँडा क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्ले बताए ।

चितुवाले बालिकाको ज्यान लिएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी नायव उपरीक्षक मल्ल र जिल्ला वन कार्यलयका प्रमुख दीपक पण्डितसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तलाई भेटेर चितुवा मार्ने वाचा गरेका थिए ।

  • 13
    Shares