You are here
Home > अर्थ/बजार > एक अर्ब १३ करोडको लागतमा ६१ प्रहरी चौकी निर्माण हुने

एक अर्ब १३ करोडको लागतमा ६१ प्रहरी चौकी निर्माण हुने

२७ भाद्र २०७५, बुधबार ०७:२५

काठमाडौं-प्रदेश नं ३ ले एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ ।

सङ्घीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको जानकारी दिए।

नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले बताए।

उनका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।

प्रहरी भवन निर्माण गरी बजेट सदुपयोग गर्ने लक्ष्यका साथ विनियोजन गरिएको उनले जानकारी दिए। ती चौकी निर्माण भएपछि प्रहरीका लागि आगामी दिनमा कार्य सम्पादनका लागि सहज हुने विश्वास प्रदेश सरकारले लिएको छ । भूकम्पले भत्काएका तथा पुराना भएका प्रहरी चौकीलाई अत्याधुनिक बनाउन लागिएको हो ।

  • 23
    Shares