You are here
Home > राजनीति > दुई देशबीचको सहमति कार्यान्वयन गराउन अध्यक्ष ‘प्रचण्ड’ चीन प्रस्थान

दुई देशबीचको सहमति कार्यान्वयन गराउन अध्यक्ष ‘प्रचण्ड’ चीन प्रस्थान

३० भाद्र २०७५, शनिबार १७:५६

काठमाडौं-चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताएका छन् ।

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने अध्यक्ष दाहालले जानकारी दिए ।

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताए ।

अध्यक्ष दाहालले भने, “म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्याइन्छ। दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पुर्याइन्छ। कुनै दुविधा रहँदैन ।”

चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

  • 6
    Shares