You are here
Home > प्रशासन > काँडाघारी र कोटेश्वरका ९ प्रहरी अख्तियारको फन्दामा

काँडाघारी र कोटेश्वरका ९ प्रहरी अख्तियारको फन्दामा

३० भाद्र २०७५, शनिबार १९:५७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरि ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

घुससहित अख्तियारको अप्रेशन फन्दामा पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत ठिमीमा कार्यरत सुवास ढुंगानासहित ९ जना रहेका छन्।

आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकम सहित कोटेश्वरको मुनिभैरव मन्दिरस्थित लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै आयोगले सोही भोजनालयबाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेललाई पनि नियन्त्रणमा लिएको बताइएको छ।

पटेलको साथबाट ५ हजार घुस रकम बरामद गरिएको जनाएको छ।प्रहरी कर्मचारीहरुले मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ।

काँडाघारी र कोटेश्वर क्षेत्रबाट ९ प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै अख्तियार प्रवक्ता तथा सह–सचिव रामेश्वर दंगालले भने, ‘असईदेखि सिपाहीसम्म ९ जना नियन्त्रणमा लिएका छौं।’

आयोगले काँडाघारीबाट अन्य सातजना प्रहरीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा दुईजना प्रहरी सहायक निरीक्षक (असई), दुई हवल्दार र चार जना प्रहरी जवान रहेको बताइएको छ।पक्राउ परेकाहरुको साथबाट आयोगको टोलीले कुल एक लाख नगद बरामद गरेको छ ।

 

 

  • 21
    Shares