You are here
Home > समाचार > रिहा भए लगतै प्रकाण्ड पुनः पक्राउ, उदयपुर अदालतमा उपस्थित गराइने

रिहा भए लगतै प्रकाण्ड पुनः पक्राउ, उदयपुर अदालतमा उपस्थित गराइने

३१ भाद्र २०७५, आईतवार ०८:४९

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई बम विस्फोट र कर्तव्य ज्यान मुद्दा अभियोगमा उदयपुर जिल्ला अदालत बोक्सेमा उपस्थित गराइने भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार रिहा गरेलगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी प्रकाण्डलाई शनिबार उदयपुर ल्याइएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालत परिसरबाटै प्रकाण्डलाई विभिन्न समयमा बम विस्फोट गराई आठ जना घाइते बनाएको आरोपमा उदयपुर ल्याएको हो ।

गैरकानुनीरुपमा गिरफ्तार गरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाइ वीरेन्द्र विश्वकर्माले गत हप्ता दायर गरेका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

२०७४ मंसिर १३ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव प्रचारप्रसारको क्रममा उदयपुरगढी नगरपालिका ६ स्थित दनुवारबेसीमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित सात जना घाइते बनाएको अरोप लागेको थियो।

त्यस्तै चैत २८ गते त्रियुगा नगरपालिकास्थित थरुहट रंगशाला नजिकै हवाई फिल्ड चौरमा भैँसीका पाडा चराउँदै गरेका स्थानीय १४ वर्षीय बालक पारस राईले झोलामा कालो बस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भई घाइते बनाएको आरोपमा प्रवक्ता प्रकाण्डलाई उदयपुर ल्याएको डिएसपी मेघराज अधिकारीले बताए।

  • 4
    Shares