You are here
Home > समाचार > महानगरीय प्रहरी कार्यालयमा अपराधसम्बन्धी दैनिक दुई हजार फोन

महानगरीय प्रहरी कार्यालयमा अपराधसम्बन्धी दैनिक दुई हजार फोन

३१ भाद्र २०७५, आईतवार १४:४१

काठमाडौं –घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छन्।

कार्यालयकाअनुसार उपत्यकामा हुने झै–झगडा, कुटपिट,चोरी, डकैती, जस्ताघटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो। झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ।

घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० को १८ लाइन, ‘फोर डिजीट’को(११७७) एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रद्युम्नकुमार कार्की पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेर गएको बताउँछन्। “दैनिक दुई हजार कल महानगरीय कार्यालयमा मात्र आउने हो, त्यसका अलावा प्रवक्ता, परिसर प्रमुख, वृत्त प्रमुख र प्रभागका प्रमुखलाईसमेत फोन आउने गरेको छ,”–उनी भन्छन्।

कार्यालयमा आउने फोनमध्ये झै–झगडा र दुर्घटनाका बढी छ । उपत्यकाका सबै परिसर, वृत्त, प्रभाग र इलाका प्रहरी कार्यालयमा आउने कल जोड्ने हो भने दैनिक तीन हजारभन्दा बढी हुन जाने र गोप्य राख्नुपर्ने सूचना भने प्रवक्ता र प्रहरी कार्यालयमा आउने गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

कहिलेकाँही प्रहरीलाई दुःख दिने नियतले समेत विभिन्न घटना भएको भनेर ढाट्नेसमेत गरेको पाइएको र ढाट्ने व्यक्तिलाई समातेर कारवाही गरिएको कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, ठाउँठाउँमा सिआरबी भ्यान, क्यूआरटी भ्यान, मोटरसाइकल, साइकलसहितका प्रहरी खटाइएको छ । कार्यालयअन्तर्गत हाल ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् ।

कार्यालय मातहतमा हाल उपत्यकामा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ, भक्तपुर, ललितपुरका महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, मानव व्यवस्थापन महाशाखा, शान्ति सुरक्षा महाशाखा, विशेष सुरक्षा महाशाखा, नेपाल प्रहरी विद्यालय, पर्यटक प्रहरी र त्यसअन्तर्गतका विभिन्न वृत्त, प्रभाग, विट र इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् ।

यस्तै ट्राफिक दुर्घटनासम्बन्धी जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा छुट्टै लाइनको व्यवस्था गरिएको छ । उपत्यकाको जुनसुकै ठाउँमा दुर्घटना भए पनि १०३ हटलाइनमा खबर गरेपछि तत्काल ट्राफिक प्रहरी पुगेर घटनाबारे जानकारी लिन्छ ।

  • 26
    Shares