You are here
Home > प्रशासन > निर्मला हत्या प्रकरणः डीआईजी धीरु बस्न्यातको नेतृत्वमा नौ सदस्यीय छानविन समिति

निर्मला हत्या प्रकरणः डीआईजी धीरु बस्न्यातको नेतृत्वमा नौ सदस्यीय छानविन समिति

३१ भाद्र २०७५, आईतवार १५:४०

काठमाडौं- निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना छानबिन गर्न नेपाल प्रहरीले डीआईजी धीरु बस्न्यात नेतृत्वको नौ सदस्यीय समिति गठन गरेको छ।

यसअघि भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गर्दै प्रहरी मुख्यालयले निर्मला प्रकरणको छानबिनको जिम्मेवारी डीआईजी बस्न्यातलाई दिएको हो।

यस छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी निरज शाही सदस्य रहेका छन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ।

‘निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाउन अनुसन्धानको दायरा अझै फराकिलो बनाउनु जरुरी थियो’, प्रवक्ता थापाले भने, ‘पहिले एकजना एसपी मात्रै निलम्बनमा थिए, हिजो दुई डीएसपीसहित अन्य पाँचजना अधिकृत पनि निलम्बनमा परेकाले छानबिनलाई प्रभावकारी बनाउन यस्तो रणनीति अपनाइएको हो।’

निर्मलाको हत्या भएको ५३ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेको अवस्थामा देशव्यापी दबाब बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले सम्पूर्ण अधिकारसहित बस्न्यातलाई सुम्पिएको हो ।

थापाका अनुसार निर्मला हत्यामा संलग्न भएको भन्दै एसपी डिल्लीराज विष्टसहितले मुख्य अभियुक्त बनाइएका दिलीपसिंह विष्ट र अर्का युवा चक्र बडूको डीएनए रिपोर्ट नेगेटिभ आएको सन्दर्भमा अपराधी पत्ता लगाउने सबै विधि यो समितिलले प्रयोग गर्नेछ ।

अब यो समितिले निलम्बनमा परेका सबै प्रहरी अधिकृतहरुसँग बयान लिनेछ । ‘बयानका क्रममा उनीहरुका कुरा सही या गलत भएको पत्ता लगाउन विकसित प्रविधि समेत यो समितिले प्रयोग गर्नेछ’, प्रवक्ता थापाले भने, ‘गहन अनुसन्धानका लागि यो समितिले सीबीआर र पोलिग्राफ टेस्ट पनि गर्नेछ ।’

थापाका अनुसार निर्मला हत्याकाण्डपछि घटना ढाकछोपमा संलग्न भएका प्रहरी अधिकृतहरुलाई कारबाहीका लागि समेत यो समितिले सिफारिस गर्नेछ ।

  • 117
    Shares