You are here
Home > समाचार > गृहमन्त्रीको प्रतिबद्धताः ‘घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएरै छोड्छु’

गृहमन्त्रीको प्रतिबद्धताः ‘घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएरै छोड्छु’

१ आश्विन २०७५, सोमबार १९:५२

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको बताएका छन्। उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीहरुसँगको छलफलमा आज गृहमन्त्री थापाले भने, ‘थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’

उनले भने, ‘घटनालगत्तै स्थानिय प्रहरीलाई सो घटनाको गम्भिर रुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सीआईबीको टोली पनि पठाईएको हो ।

पछि केन्द्रबाट उच्चस्तरीय छानबिन समिति गठन गरियो । अनुसन्धानमा प्रहरीको समेत लापरबाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरेका छौं।’

गृहमन्त्री थापाले छलफलमा महिला हिंसा र बलत्कारका घटना न्यूनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी पनि दिएका छन् । गृहमन्त्रीले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताए ।

उनले भने, ‘मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलत्कारको घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ ।’

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

  • 26
    Shares