You are here
Home > समाचार > सुधार केन्द्र रानीबारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

सुधार केन्द्र रानीबारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१ आश्विन २०७५, सोमबार २०:१३

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्रर्मिला खनालले केन्द्रकी पूर्वअध्यक्ष निर्मला प्रधान, पूर्वउपाध्यक्षहरु मुगा बान्तवा र सबिता शाहलाई संयुक्त रुपमा सम्मानपत्र प्रदान गरिएको थियो।

साथै प्रहरी महानिरीक्षक खनालले केन्द्रको बार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय, केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयलाई प्रशंसापत्र तथा केन्द्रका प्रहरी कर्मचारीहरुलाई नगद तथा प्रशंसापत्र वितरण गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कठिन परिस्थिति गुजारेर अघि बढेका केन्द्रमा उपचाररत सदस्यहरुले सकारात्मक सोच लिएर अघि बढेमा अब्बल नागरिक बनेर देशलाई थप योगदान पुर्‍याउन सक्ने बताए।

केन्द्रले समयसापेक्ष रुपमा प्रविधियुक्त भएर थप सेवा गर्नुपर्ने उल्लेख गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको समेत उहाँले बताए।

बाटो बिराएर लागूऔषध दूर्व्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुनर्स्थापना गर्ने पवित्र कार्य गर्न केन्द्र तथा यसमा सहयोग गर्ने नागरिक समाजको योगदान विशिष्ट रहेको चर्चा गर्दै लागूऔषध दूर्व्यसन हुने अन्य स्थानमा समेत यस्ता केन्द्रहरु बिस्तार गर्नुपर्ने प्रहरी महानिरीक्षक खनालले बताए।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत केन्द्रमा उपचाररत सदस्यका अभिभावकहरुको उपस्थिति रहेको थियो।

  • 25
    Shares