You are here
Home > समाचार > एपीएफ टोलीद्वारा विभिन्न जिल्लाबाट लागूऔषध बरामद

एपीएफ टोलीद्वारा विभिन्न जिल्लाबाट लागूऔषध बरामद

२ आश्विन २०७५, मंगलवार २०:०६

काठमाडौं- सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको दालढुंगाका २६ वर्षिय टाईसन लामा र चितवन जिल्लाको डाँडागाउँका २५ वर्षिय संजय तामाङर रहेका छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो। भारतबाट बा २७ प. ३२३४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्ने क्रममा उनीहरुको साथबाट नोफिन ६३ वटा र डाईजाल्याप ९५ वटा फेला परेको थियो।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले सिराहा जिल्लाको सिराहा नगरपालिका १७ बाट १० पत्ता नाईट्रोजन ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर जिल्लाको कटारी नगरपालिका ४ को २४ वर्षिय पवन राई, सोही नगरपालिका ५ का राजु खत्री र सिराहा जिल्लाको सिराहा नगरपालिका १४ का ३५ वर्षिय अनिल मण्डल रहेका छन् ।

भारतबाट स ७ प. ७३०५ नम्बरको मोटरसाइकल र बीआर ३२ एस २१४४ नम्बरको भारतीय मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा हेलमेटभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाईएको छ ।

त्यसैगरी कैलालीको भजनी नगरपालिका ३ स्थित कुसुमघाटबाट एपीएफ टोलीले करीव ६ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दगोरिया गाउँपालिका १ का जगतबहादुर साउद र बिक्की कुँवर रहेका छन् ।

से ६ प. ३०१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

  • 30
    Shares