You are here
Home > समाचार > फास्ट्र्याकको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

फास्ट्र्याकको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

३ आश्विन २०७५, बुधबार १५:५४

काठमाडौं -राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ।

यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो।

फाष्ट ट्रयाक आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यसै महिनाको दोस्रो साताभित्रै निर्माण सम्बन्धी सम्झौता हुने जानकारी दिए।

डिपीआर करीब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार हुने छ जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड रुपैयाँ सस्तो हो। खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ।

एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ। सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको छ।

सेनानी विनोद श्रेष्ठका अनुसार, छोक्रेडाँडादेखि महादेवखोल्सीसम्म ३.३०, सीमपानीबेँसीदेखि चालिसे खोल्सीसम्म १.३७ र घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर दूरीका तीन वटा सुरुङ निर्माण गरिने छ। ती सुरुङ समानान्तर दूरीमा आवतजावत गर्नसक्ने दुईवटा मुख भएका ९.५ मिटर चौडाइ र ५.५ मिटर अग्ला हुने छन्।

 

  • 19
    Shares