You are here
Home > समाचार > प्रहरी जवानदेखि डिएसपीलाई दिँदै आएको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज

प्रहरी जवानदेखि डिएसपीलाई दिँदै आएको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज

१५ आश्विन २०७५, सोमबार १५:२६

काठमाडौं– काठमाडौं जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि डिएसपीसम्मले पाउँदै आएको नगद पुरस्कारसहितको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज भएको छ ।

२०७५ वैशाखदेखि महानगरीय प्रहरी परिसर र त्यस मातहत कार्यरत उत्कृष्ट कार्य गर्दै आएका प्रहरी कर्मचारी दिइँदै आएको पुरस्कार खारेज गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

‘पुरस्कार दिने त्यो प्रणाली खारेज भयो’ एसएसपी लामाले भने, ‘दाताले दिएको पुरस्कार बापतको रकमलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे सल्लाह गर्दै छौं, सम्भवत सहयोगी संस्थासँग सल्लाह गरेर ब्यारेक बनाउनेतिर सोचेका छौं ।’

२०७४ चैतमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवानलाई मासिक १० हजार र प्रहरी नायव उपरीक्षक डिएसपीलाई ५० हजार नगद सहित ‘काठमाडौं प्रहरी अवार्ड’को शुरुवात गरिएको थियो ।

उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दारले १५ हजार, प्रहरी सहायक निरीक्षकले २० हजार, प्रहरी नायव निरीक्षक (सई) ले २५ हजार र एकजना प्रहरी इन्सपेक्टरले हरेक महिना ३५ हजार नगद पुरस्कार प्राप्त गर्दै आएका थिए ।

उत्कृष्ट प्रहरीलाई पुरस्कार दिनका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार उपलब्ध गराएको थियो ।

काठमाडौंका तत्कालिन एसएसपी विश्वराज पोखरेलले उक्त अवार्डको शुरुवात गरेका थिए ।

‘काठमाडौं प्रहरी अवार्ड’ खारेज भएपनि अहिलेसम्म पुरस्कार पाएका प्रहरी कर्मचारीहरुको तिनपुस्ते रेकर्डमा जनाइने बताइएको छ । काठमाडौं प्रहरीले चार महिना अवार्ड वितरण गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि महानगरीय प्रहरी परिसर ललितपुरले दिँदै आएको पुरस्कार समेत खारेज हुने भएको छ ।

  • 8
    Shares