You are here
Home > समाचार > विशेष सुरक्षा योजना सार्वजनिक गरेकै रात काठमाडौंका आधा दर्जन स्थानमा चोरी, प्रहरीलाई शान्ति सुरक्षामा चुनौती

विशेष सुरक्षा योजना सार्वजनिक गरेकै रात काठमाडौंका आधा दर्जन स्थानमा चोरी, प्रहरीलाई शान्ति सुरक्षामा चुनौती

१५ आश्विन २०७५, सोमबार १६:०६

काठमाडौं– काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले पत्रकार सम्मेलन गरेर शान्ति सुरक्षा मजबुद भएको दाबी गरेकै रात काठमाडौंका आधा दर्जन स्थानमा चोरी भएका छन् ।

चोरहरुले एसएसपी लामालाई चुनौती दिँदै विभिन्न स्थानमा चोरी गरेका हुन्। गृहमन्त्री रामबहादुर थापाको विशेष पावर लगाएर दुई महिना अगाडि काठमाडौं प्रहरीको जिम्मेवारी लिएका एसएसपी लामालाई शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना पनि हुँदै आएको छ।

एसएसपी लामाले आइतबार दशैँको अवसरमा विशेष सुरक्षा योजना सार्वजनिक गरेका थिए ।

काठमाडौंको शंकरापुर नगरपालिका ३ लप्सीफेदी बस्ने सुवर्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा सुनका विभिन्न गहना १.५ तोला र नगद २१ लाख समेत गरी करीव १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरी समाचार कक्ष नक्सालबाट सोमबार जारी भएको विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका १६ नर्सरी चोक बस्ने ४५ वर्षीय उद्धव निरौलाको घरबाट कोही नभएको अवस्थामा करीब १ लाख ४२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका ८ सुन्दरबस्तीस्थित लक्ष्मी शर्मा बरालको घरबाट १ थान ल्यापटप, १ थान टिभी र नगद ४ हजार समेत गरी करीब १ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरस्थित डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका ३ घर भएका सुजित घिसिङ्को कोठाबाट १ थान सुनको सिक्री र जापानी ऐन ७५ हजार गरी करीब १ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती नौं तलेस्थित हरि कुमार खत्रीको घरबाट सुनका विभिन्न गहनाहरु र नगद ३ लाख ५० हजार समेत गरी करीब ५ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका २० सुनाकोठीस्थित सूर्यकला शाहको घरबाट सुनका विभिन्न गहना र नगद ५० हजार समेत गरी करीब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट चित्रपुर बस्ने ३३ वर्षीय राजेन्द्र कार्कीको घरबाट कोही नभएको अवस्थामा सुनका बिभिन्न गहना र नगद ३ लाख समेत गरी करीब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।