You are here
Home > समाचार > तत्कालीन माओवादी लडाकुको पन्ध्र वर्षपछि अन्त्येष्टि

तत्कालीन माओवादी लडाकुको पन्ध्र वर्षपछि अन्त्येष्टि

१६ आश्विन २०७५, मंगलवार १०:५९

काठमाडौं-बाँके पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फकिएनन्। परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । पन्ध्र वर्ष बित्यो डाँगी फकिएनन्।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन । घरमूली फर्किने आशामा लामो समयदेखि बाटो हेरेर बसेको डाँगी परिवार अन्ततः निराश बन्यो।

घरमूली फर्किने आश त्याग्दै डाँगीको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यो । डाँगी परिवारले लालबहादुर फर्किने आशा मार्दै कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेको छ ।

“बुबा फर्किने आशामा १५ वर्ष बित्यो, न बुबा फर्किनुभयो, न त उहाँको केही खबर नै प्राप्त भयो । त्यसैले हामी अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यौँ,” लालबहादुरका जेठा छोरा प्रेमप्रकाशले भने।

विसं २०६० असोज २ गते अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी गर्यो । केही पत्तो लागेन । “यत्तिका वर्ष बित्दासम्म बुबाको जति खोजी गरे पनि केही खबर पाउन नसकेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्यौं,” प्रेमप्रकाशले भने।

उनका अनुसार गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजक्रिया शुरु गरिएको छ ।

तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता लालबहादुरलाई तत्कालिन माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेपछि लामो समयसम्म अवस्था पत्ता लगाउन खोजी गरे पनि सफल नभएको लालबहादुरका कान्छा छोरा ओमप्रकाशले बताउए। उनले भने, “बुवा जीवित हुनुहुन्छ भन्ने आशा मरिसकेपछि अन्त्यष्टि गर्ने निष्कर्षमा पुग्यौँ ।”

हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँदा डाँगी परिवारमा लालबहादुर फर्किने आशा जाग्थ्यो ।

  • 6
    Shares