You are here
Home > राजनीति > घरेलु हिंसा अत्यका लागि सरकार र जनताको संयुक्त पहल आवश्यकः गृहमन्त्री थापा

घरेलु हिंसा अत्यका लागि सरकार र जनताको संयुक्त पहल आवश्यकः गृहमन्त्री थापा

१७ आश्विन २०७५, बुधबार १२:४०

काठमाडौं-गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्।

प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताएका हुन् ।

देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उनले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताए ।

घरेलु हिंसाको मुख्य कारण मदिरा र लागूऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागूऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छौं ।’ गृहमन्त्रीले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरे ।

सरकार गठन अघि भएका चन्दा आतंक र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचार जस्ता गतिविधि न्यून भएको बताए । उनले भने, ‘गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मकरुपमा वृद्धि भएको छ ।’

गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताए । उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताए ।

पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए ।

  • 2
    Shares