You are here
Home > विचित्र संसार > मुखले लेखेर पिएचडीको तयारी

मुखले लेखेर पिएचडीको तयारी

१९ आश्विन २०७५, शुक्रबार १५:३८

धनगढी– बालदिवसको दिन धनगढीमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो। बालबालिकालाई शिक्षाको पहुँचसम्म पुर्‍याउन सबैले आ–आफ्नो धारणा राखिरहेका थिए। यही क्रममा कार्यक्रमको मध्यतिर बोल्न आएका नन्दराजका कुरा सुनेर सबै चकित भए। शारीरिक रूपमा दुवै हातखुट्टा सांग नरहेका नन्दराज अहिले विद्यावारिधि पिएचडीको तयारी गर्दै छन्।

वि।सं। २०४५ मा बैतडीको सुर्नया गाउँपालिका-३ मा जन्मिएका नन्दराज भट्ट अहिले अपांगता भएका मात्रै होइन, शारीरिक रूपमा तन्दुरुस्त व्यक्तिका लागि पनि प्रेरणाका पात्र बनेका छन्। शारीरिक रूपमा अशक्त भए पनि बौद्धिक रूपमा उनी निकै तेजिला छन्। उनले राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरिसकेका छन्। कक्षामा कहिल्यै दोस्रो भएको उनलाई अनुभव छैन।

जन्मिएपछि मार्न सुझाव

प्रदेश ७ को पहाडी जिल्ला बैतडीको दुर्गम क्षेत्रमा जन्मिएका हुन् भट्ट। सन्तान प्राप्ति हुँदा जुन खुसी र हर्ष आमआमाबुबाले व्यक्त गर्छन्, भट्टका आमा–बुबाले दुवै महसुस गर्न सकेनन्। बरु बज्रपात भयो परिवारमा। घरको जेठो छोराका रूपमा उनको जन्म भयो। प्रसूतिको पूर्वसन्ध्यामा रमाइरहेका आफन्त, छरछिमेक र गाउँलेहरू उनको जन्मसँगै मौन भए। परिवारमा सन्नाटा छायो। कसैले भनेको सम्झँदै भट्टले भने, ‘उसलाई जिउँदै मारिदिनू, यस्तो हातखुट्टा नभएको छोरा पालेर के गर्नुहुन्छरु ’ तीन दशक पहिलेको समाजमा दुवै हात खुट्टा नभएर पनि जिउनु सहज थिएन। त्यसैमाथि हामी विपन्न वर्गका मान्छे। अनौठो बालक जन्मिएको भन्ने सुनेर हेर्न आउनेको घुइँचो नै लाग्थ्यो उनको घरमा। पहिलो छोराका रूपमा अपांग जन्मिएपछि अन्य सन्तान पनि त्यस्तै हुने डर देखाए गाउँलेहरूले।

कतिपय आफन्तहरूले पनि त्यस्तै भने। ‘हात खुट्टा नै नभएकालाई के पाल्छस्, जंगलमा लगेर फालिदे’ धेरैले यस्तै भनेछन्, उनले सुनाए। सबैले भने पनि बुबाआमालाई यो अनिष्ट स्वीकार्ने कुरै भएन। ‘उहाँले सधैँभरि बरु छोराको गोठाले लागेर बस्छु तर यस्तो पाप गर्दिनँ भन्नुभयो रे१’, हामीलाई यति सुनाउँदासम्म उनी भावुक भइसकेका थिए। अहिले लेख्ने, पढ्ने, खाना खाने, दारी काट्नेलगाएतका दैनिक क्रियाकलाप उनी सजिलै गर्छन्। उनी मोबाइल र कम्प्युटर पनि राम्रैसँग चलाउँछन्।ओठ र नाकले मोबाइल चलाउँछन्। ‘खाना पकाउने र कपडा धुनेबाहेकका सबै काम म सजिलैसँग गर्छु’, नन्दराजले भने, ‘ती दुई कामका लागि भने श्रीमतीले सघाउँछिन्।’ २०७१ सालमा प्रेम विवाह गरेका नन्दराजकी एक छोरी छन्।

पढाइमा सधैँ पहिलो

उनलाई कक्षा ३ सम्म अभिभावकले घरमै शिक्षक राखेर पढाए। ‘पहिले मुखले लेख्न सिकाउनुभयो अनि खुट्टाका औँलाहरूले अक्षर कोर्न सिकाउनुभयो’, भट्टले भने, ‘मुखले लेख्दा शरीर दुख्न थाल्यो अनि दुवै हातको कुहिना जोडेर लेख्न सिकाउनुभयो।’ कक्षा ५ पढ्दासम्म उनले मुख र खुट्टाले नै लेखे। खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि उनले कुहिनाले लेख्ने प्रयास गरे। ‘अहिले म कुहिनाले नै लेख्छु तर मुख, खुट्टा र कुहिनाले पनि बराबर गतिमा लेख्न सक्छु’, उनले सुनाए।

कक्षा ३ सम्म उनी घरमै अध्ययन गरेर वार्षिक परीक्षामा सहभागी हुन मात्रै विद्यालय जाने गर्थे। उनको अध्ययन मोहले कक्षा ३ माथिका लागि विद्यालयमै जान सुझाव दिए। उनी त्यसपछि कहिल्यै दोस्रो भएनन्। आमा बुबाको गतिलो आर्थिक स्रोत नहुँदा पनि भट्टको अध्ययन चाहनामा भने पूर्णबिराम लागेन। कृषि पेसाले जीविको चलाउँदै आएका उनका परिवारहरूले दूध, दही, घीउ बेचेर स्थानीय विद्यालयबाट उनलाई एसएलसी उत्तीर्ण गराए, त्यो पनि प्रथम श्रेणीमा। वीरेन्द्र उच्च माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुने त्यो ब्याचमा भट्ट एक्ला विद्यार्थी हुन्।

भर्ना पाएनन्, कोठा भेटेनन्

उच्च शिक्षाका लागि बैतडीबाट धनगढी पुगेका नन्दराजले धनगढीमा ठूलै संघर्ष गर्नुपरेको थियो। उनले लामो समय कोठा नपाएपछि साथीकहाँ ‘शरणार्थी’को रूपमा बस्नुपरेको थियो। ‘मैले चीन–चार महिना कोठा पाइनँ। साथीको घरमा बास मागेर बसेँ’, अतीत सम्झँदै नन्दराजले भने। धनगढीमा बस्न मात्रै होइन, उनलाई पढ्न अझै ठूलो समस्या भयो।

धनगढीका ठूला नाम चलेका सबैजसो कलेजले उनलाई भर्ना लिएनन्। एक दशकअघि कसैले कलेज अपांगमैत्री नभएको भन्दै फर्काए। कसैले कोटा पूरा भइसकेको भन्दै भर्ना गरिदिएनन्। कलेजको भौतिक संरचनाले नन्दराजको अध्ययन मोहलाई भने टार्न सकेन। कैलालीमा भर्ना नहुने देखेर उनी कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसमा गए तर उनलाई त्यहाँ पनि विद्यालयले स्वीकार गरेन।

‘मलाई साइन्स पढ्ने ठूलो रहर थियो तर भर्ना नलिएपछि साइन्स पढ्ने सपना अधुरै रह्यो’, मलिन अनुहार लगाउँदै नन्दराजले भने। निजी कलेजहरूले अस्वीकार गरेपछि उनी कैलाली बहुमुखी क्याम्पसमा हानिए। कैलाली बहुमुखी क्याम्पसमा घनबहादुर शाहको जोडले उनी भर्ना भए। ‘अहिले त केही सहज भयो होला तर त्यो बेला मैले धनगढीसँग ठूलै संघर्ष गर्नुपरेको थियो’, उनी भन्छन्। विद्यालयमा अपांगता भएकाहरूका लागि निःशुल्क पठनपाठन गराउन तथा अपांगता भएका व्यक्तिलाई सामाजिक समायोजनका क्षेत्रमा सक्रिय भट्टले थुप्रै सम्मान पनि प्राप्त गरिसकेका छन्। अपांगता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनलाई सम्मान गर्‍यो। उनी सामाजिक क्षेत्रमा सक्रिय छन् अहिले पनि।

पुस्तक मोह

बेलाको बोलीु विचारसंग्रह प्रकाशन गरिसकेका नन्दराज अहिले आफ्नै जीवन चरितार्थ गरेर पुस्तक लेख्ने तयारीमा छन्। २०६२र०६३ सालको जनआन्दोलनमा भएको जनधनको क्षतिलाई उनले पुस्तकमा समेटेका छन्। ‘जनआन्दोलनको बेलाको उत्पीडन र उपलब्धिलाई मैले पुस्तकमा उतारेको छु। हातले, मुखले र खुट्टाले लेखेर पाण्डुलिपि तयार गरेको हुँ’, नन्दराजले सुनाए। त्यो बेला उनले एक हजार थान पुस्तक छापेका थिए। दुवै हातखुट्टाले काम नगरे पनि सबै काम गर्न सकिन्छ भन्ने प्रेरणा दिन चाहन्छन् उनी। पुस्तकको माध्यमबाट प्रेरणा दिने उनको चाहना छ। आफ्नै जीवनलाई पुस्तकमा उतारेर सबैसम्म पुर्‍याउने अभियान सञ्चालन गर्ने उनी बताउँछन्। धनगढीबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकामा उनका लेख तथा रचनाहरू नियमित आइरहेका हुन्छन्। विद्यार्थी साहित्य प्रतिष्ठानको उपाध्यक्ष पनि भइसकेका नन्दराज गजल र कवितामा बढी दख्खल राख्छन्। हात, खुट्टा र मुखले लेखेर उनी पुस्तक तयार गरिरहेका छन्।

अन्त्यमा नन्दराजको यो मुक्तक

बेहाल छ जीवन कथा म लेखुँ कसरी ?

बादलभित्रको चन्द्रमा म देखुँ कसरी ?

आँसुले भिजेको परेली बिझाइरहन्छ कताकता

तिमी नै भनिदेऊ त्यो परेली म सेकुँ कसरी?

  • 4
    Shares