You are here
Home > खेलकुद > मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

२० आश्विन २०७५, शनिबार ११:०६

काठमाडौं- मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत समूह बी रहेको मा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । उनले अविजित ५२ रन जोडे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे ।

यस्तै ओपनर विनोद भण्डारी १२ रनमा आउट हुँदा अर्का ओपनर अनिल कुमार साह मात्र १ रनमा पेभेलियन फर्किए । मलेसियाका पवनदिप सिंह र सायज्रुल इद्रुसले एक एक विकेट लिए ।

यसअघी टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै १०० रन बनाएको थियो । नेपालका युवा बलर सन्दीप लामिछाने चम्किएपछि मलेसिया सस्तैमा समेटिएको थियो। मलेसियाका लागि सफिक सरिफले ४९ रन जोड्दा सायद अजिजले १३ रन जोडे। अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन।

मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीपले ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले ३ विकेट लिदा कप्तान पारस खड्काले एक विकेट लिए ।

पहिलो खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा थाइल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

  • 1
    Share