You are here
Home > समाचार > चितवन प्रहरीद्धारा सुरक्षा योजना सार्वजनिकः सादा पोशाकदेखि बर्दीसम्मका प्रहरी परिचालन गरिने

चितवन प्रहरीद्धारा सुरक्षा योजना सार्वजनिकः सादा पोशाकदेखि बर्दीसम्मका प्रहरी परिचालन गरिने

२२ आश्विन २०७५, सोमबार १३:१३

चितवन- दशैं तिहार र छठ पर्वलाई लक्षित गरी चितवन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित सुरक्षामा ४ सय ५६ प्रहरी खटाइने चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

सुरक्षाका लागि विभिन्न नौ वटा क्षेत्रहरु बाँडेर प्रहरी परिचालन गर्ने योजना बनाइएको राठौले बताए । विभिन्न चोक चोकमा सुरक्षाका लागि ९१ प्रहरी खटिने छन् ।

राजमार्ग र भित्री सडकमा मोबाइल गस्ती गर्न १४ वटा प्रहरी इकाइका ५६ प्रहरी, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल एवम् ठूला कारोबार हुने बजार क्षेत्रमा ५५ प्रहरी खटिने छन् । छड्के जाँचका लागि २७ वटा प्रहरी इकाइ अन्तर्गत ६१ जना परिचालन गरिनेछ ।

पटाका र विस्फोटक पदार्थ नियन्त्रणका लागि आठवटा प्रहरी इकाइका ४८ जना परिचालित गरिने चितवन प्रहरी प्रवक्ता प्रभु ढकालले जानकारी दिए ।

प्रहरीले टिकट काउन्टरको नियमित अनुगमन गर्ने र समस्या आएमा तत्काल सम्वोधन गर्ने गरी छुट्टै टोली परिचालन गरेको छ । भरतपुरको केन्द्रीय बसपार्क, पोखरा बसपार्क र पुल्चोकमा यात्रु सहायता कक्ष राखिने छ । बढी भाडा लिए–नलिएको अनुमगन गर्न ट्राफिक प्रहरीले पनि छड्के जाँच गर्नेछ ।

जुवातास घर, मदिरा बिक्रीवितरण र उपभोगमा समेत प्रहरीको निगरानी रहने प्रहरी प्रमुख राठौरले बताए । मूल्यवृद्धि नियन्त्रणमा प्रशासनको योजना अनुसार प्रहरी परिचालन गरिने एसपी राठौरले बताए । सादा पोसाकमा ठूलो संख्यामा प्रहरी परिचालन गरी निगरानी गरिने उनले बताए ।