You are here
Home > प्रशासन > घुस रकमसहित सशस्त्रका हवल्दार अख्तियारको फन्दामा

घुस रकमसहित सशस्त्रका हवल्दार अख्तियारको फन्दामा

६ कार्तिक २०७५, मंगलवार १५:३७

जनकपुर- तस्करबाट घुस लिदैं गर्दा जनकपुरमा एक सशस्त्र प्रहरी रंगेहात पक्राउ परेका छन्। भारतीय बजारबाट अबैध रुपमा भित्रिने मालसमान ओसारपोसारमा सहज बनाई दिने भन्दै घुस लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास, महोत्तरीका प्रकाश मैनालीको नेतृत्वको टोलीले गोप्य सूचनाको आधारमा नगद ११ हजार घुससहित जनकपुरको कदम चोकबाट नियन्त्रणमा लिएको हो ।

भारतीय बजारबाट घरायसी तथा किरानाका मालसमान धनुषा भित्र्याउनमा सहज बनाइदिने भन्दै ब्यापारीबाट घुस लिएको अख्तियार टोलीले जानकारी दिएको छ। स्थानीय सहरजमिन मुचुलकापछि गिरीलाई बर्दिबास लगिएको छ । गिरीमाथि थप अनुसन्धान सुरु गरिएको टोलीले बताएको छ ।

पछिल्लो समय भन्सार कर्मचारी तथा प्रहरी प्रशासनको सेटिङगमा भन्सार छली तथा तस्करी बढेको छ। तस्करहरुले भन्सार तथा प्रहरी प्रशासनलाई महिना महिनामा रकम तिरेर भारतीय बजारबाट अबैध रुपमा मालसमानहरु नेपाल भित्र्याउँदा सरकारको करोडौं राजश्व घाटा हुने गरेको छ ।

  • 13
    Shares