You are here
Home > समाचार > जुवाको पैसा लुकाएको आरोपमा प्रहरीमाथि कारवाहि

जुवाको पैसा लुकाएको आरोपमा प्रहरीमाथि कारवाहि

८ कार्तिक २०७५, बिहीबार ०९:३०

काठमाडौँ- जुवाखालबाट बरामद रकम लुकाएको आरोप लागेका म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापामाथि महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको छ ।

म्हैपीस्थित एक घरमा चलिरहेको जुवाखालबाट बरामद १७ लाखमध्ये थापाले करिब ५ लाख रुपैयाँ आफैं राखेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेपछि परिसरले उनलाई जिम्मेवारीमुक्त बनाएर छानबिन थालेको हो ।

गत सोमबार राति असई थापासहित दुई प्रहरी जवानले जुवाखालमा छापा मारेका थिए । जुवा खेलिरहेकाहरू खालमा रहेको केही रकम लिएर भागेका थिए । असई थापाले खालमा रहेको करिब १५ लाख रुपैयाँ आफैंले लिएको र पछि छलफलपछि ५ लाख राखेर अरू फिर्ता गरेको उजुरीमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानक्रममा केस मिलाउन भन्दै जुवाडेहरूले आफूलाई तीन लाख दिएको असई थापाले बताएका छन् ।

परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार असई थापा र उनीसँग गएका अन्य दुई जवानसँग पनि बयान लिइएको छ । म्हैपीको उक्त घरको फ्ल्याटमा सधैं जुवा खेलाइन्थ्यो वा त्यो दिन मात्रै खेलाइएको हो भन्ने अनुसन्धान भइरहेको छ । प्रहरीले घरधनी, छिमेकी र आरोप लगाउने सबैसँग बयान लिएको छ ।

  • 2
    Shares