You are here
Home > समाचार > सीमा क्षेत्रका सहिद गोविन्दकी पत्नी भन्छिन् -‘सरकारकाले दिएका आश्वासन पुरा भएनन्’

सीमा क्षेत्रका सहिद गोविन्दकी पत्नी भन्छिन् -‘सरकारकाले दिएका आश्वासन पुरा भएनन्’

१० कार्तिक २०७५, शनिबार १५:५१

कञ्चनपुर-झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले ज्यान गुमाउनु पर्यो।

नेपाल–भारत सीमा क्षेत्र पर्ने आनन्द बजार नजिक कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो ।

लगत्तै तत्कालीन सरकारले गौतमलाई शहीद घोषणा गर्नुका साथै उनका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताए पनि त्यो अझै पूरा हुन नसकेको शहीद परिवारले गुनासो गरेको छ।

तीन छोरी रहेका गौतमकी पत्नी लक्ष्मी गौतमले छोरीहरुको स्थानीय विद्यालयमा अध्यापन चलिरहेको बताइन्। “तीन वटै छोरीलाई अलग अलग स्कूलमा पढाउनुपरेको छ ।” उनले भनिन्, “घटनाका बेला पाइएका धेरै आश्वासन पूरा भएनन् ।”

घटनाका बेला पुनर्वास नगरपालिकाले पनि आफूलाई रोजगारी दिने बताएको लक्ष्मीले जानकारी दिइन्। “मलाई पनि कहीँकतै जागीर दिइएको छैन,” उनले भनिन्, “सरकारले घोषणा गरेको रु १० लाखसँगै सबैतिरबाट गरी रु ३२ लाख सहयोग जुटेको थियो ।”

उहाँले शहीदका लागि मिलेको सहयोगले पुनर्वासमै २६ लाखमा घर किनेकी छिन्। “अहिले रोजगारीका लागि दौडधुप गरिरहेको छु ।” उनले भनिन्,“राहत दिने धेरै प्रतिबद्धता औपचारिकताका लागि रहेछन् ।”

त्यसैगरी स्थानीय तहले आनन्द बजारमा शहीद गौतमको शालिक बनाउने भनेको थियो तर त्यो कामको शुरुआत गरिए पनि अझै सम्पन्न गर्ने सुरसार छैन । “शालिक बनाउने काम अझै भएको छैन ।”

 

  • 5
    Shares