You are here
Home > समाचार > शान्ति सुव्यवस्थाको मुख्य बाधक अपराधी- गृहमन्त्री थापा

शान्ति सुव्यवस्थाको मुख्य बाधक अपराधी- गृहमन्त्री थापा

११ कार्तिक २०७५, आईतवार १३:१९

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा बादलले विकास र सम्वृद्धि नेपाल निर्माणको बाधक भनेको गुण्डागर्दी र तस्कर रहेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज आयोजना गरेको ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’को उद्घाटन गदैं गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।

उनले उद्घाटनमा बोल्दै देशमा शान्ति र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गरे।गृहमन्त्री थापाले देश विकासका लागि गुण्डा, ठग र मानव तस्करलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रहरी र समूदायबीच समन्वयात्मक कार्यको आवश्यकता रहेको बताए।

‘गुण्डा ठग, मानव तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन’ बादलले भने, ‘यही कारण हामीले देशमा स्थायित्व कायम गर्न सकेनौं ।

‘लाखौ युवायुवती रोजगारका लागि विदेशीन बाध्य भएका छन् जसलाई हामी सबै मिलेर रोक्नुपर्छ उनले भने।’सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि प्रहरीको यो पहलकदमी महत्वपूर्ण रहने उनको भनाई थियो।

‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नको लागि दीगो शान्तिको स्थापना गर्न जरुरी छ’, गृहमन्त्रीले भने, ‘मुलुकमा सुशासन कायम गर्न जरुरी हुन्छ।’

‘समाजमा रहेका सबै प्रकारका अपराध निस्तेज गरिनुपर्छ । शान्ति सुव्यवस्थाको मुख्य बाधक नै अपराधी हुन्।  तिनै विकास, समृद्धि र सुशासनको बाधक हुन्’, गृहमन्त्रीले भने।

कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रायलका सचिव दिनेश थपलियाले सुशासनको अभ्यास समुदायबाट हुने भएकाले यसलाई प्रहरी मैत्री भन्दा पनि समुदाय मैत्री बनाउन जरुरी रहेको बताए। प्रहरी प्रधान कार्यालयले थालनी गरेको कार्यक्रम बार्षिक, आवद्यीक नभएर यसलाई निरन्तता दिनुपर्नेमा उनले जोड दिए।

त्यस्तै गृहमन्त्रालयका गृह सचिव प्रेमकुमार राईले यस्ता कार्यक्रम सरकार एक्लैको प्रयासबाट सम्भव नहुने भएकाले नागरिकको समेत साथ आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमका लागि गृहमन्त्रालयले भौतिक, आर्थिक रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

त्यसैगरी काठमाडौैं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले प्रहरी सुखका लागि मात्रै साथी नभएर दुखका लागि समेत साथी रहेको बताए।

प्रहरीले एक्लैको प्रयासले मात्रै कार्यक्रम सफल नहुने भएकाले त्यसका लागि नागरिकको समेत साथ चाहिने बताए। उनले समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी र महानगरपालिकाले समेत प्रतिवद्धता जनाएर लागि रहेको बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय र प्रहरी साझेदारी कार्यक्रमको अवधारणा प्रस्तुत गरेका थिए। आईजीपी खनालले यो कार्यक्रम शुभारम्भ गर्नका लागि चार महिनाको अध्ययन र छलफल लागेको बताए।

यो कार्यक्रम देशका ७७ जिल्लामा एक्कै साथ शुभारम्भ भएको हो।

  • 3
    Shares