You are here
Home > समाचार > समुदायसँग मिलेर काम गर्न नेपाल प्रहरीले स्वयमसेवक देशभर परिचालन गर्ने

समुदायसँग मिलेर काम गर्न नेपाल प्रहरीले स्वयमसेवक देशभर परिचालन गर्ने

१४ कार्तिक २०७५, बुधबार २०:१३

काठमाडौं-नेपाल प्रहरीले स्वयम सेवक प्रहरीको अवधारणालाई देशभरी लागू गर्ने भएको छ। गत आइतबारदेखि सुरु गरिएको समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत प्रहरीले स्वयम्सेवक प्रहरीको अवधारणा लागु गर्न लागेको हो।

समुदायसँग मिलेर सुरक्षालाई बलियो बनाउन यो अवधारणा सुरु गरिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए।

उनले प्रहरीले समुदायसँगै मिलेर गस्ती समेत गर्ने बताए। सामुदायिक प्रहरीको अवधारणालाई परिमार्जन ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सुरु भएको हो । यसका लागि स्थानीय तह, बिद्यालय तथा अन्य संघ संस्थासँग मिलेर प्रहरीले दीर्घकालिन संरचना बनाउने छ। त्यसका लागि स्थानीय तहले प्रहरीलाई आर्थिक सहयोग समेत दिने छ ।

प्रवक्ता सुवेदीले नेपाल प्रहरीले हालै सार्वजनिक गरेको ‘समुदाय प्रहरी साझेदारी’ अवधारणाको परिचय, साझेदारीको औचित्य, सुरक्षा र विकासको अन्तरसम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरकार प्रणालीको सामञ्जस्यता, स्थानीय तह तथा नेपाल प्रहरीको साझेदारीका आधारहरु र विद्यालय सम्पर्क कार्यक्रमको औचित्यबारे जानकारी गराएका थिए।

कार्यक्रम अन्र्तगत हाल देशभरीका प्रहरी कार्यालयले धमाधम स्थानीय तहसँग सम्झौता गरिरहेको उनको भनाई छ। यो कार्यक्रम वडा वडा तहसम्म पुग्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार आयोजित उद्घाटन कार्यक्रममा बताए ।

विगतका सामुदायिक प्रहरी लगायतका कार्यक्रमको राम्रा अभ्यासका साथै अझै बृहत क्षेत्रलाई समेटेर एकिकृत रुपमा थप प्रभावकारी संचालन गर्ने लक्ष्य अनुरुप उक्त अवधारणा ल्याइएको प्रष्ट पार्दै उनले प्रष्ट पारे।

कार्यक्रममा कूल अपराधमा अभियुक्त तथा पीडितको उमेर समूहबारे आर्थिक वर्ष २०७३\०७४ को तथ्याङ्क विश्लेषण, जबरजस्ती करणी पीडितको आर्थिक वर्ष २०७४\०७५ तथा लागूऔषध अपराधमा उमेरगत संलग्नताको अर्धवार्षिक तथ्याङ्गत विश्लेषण गर्दै प्रहरी वरिष्ठ उपरिक्षक सुबेदीले समस्या समाधान, अपराध नियन्त्रण र अनुसन्धानमा सफलताका लागि उपलब्ध साधन स्रोतलाई समुचित प्रयोग गरी नेपाल प्रहरी अगाडि बढ्ने जानकारी गराइएको थियो।

  • 10
    Shares