You are here
Home > समाचार > प्रहरीको कार्य समुदायसँगको सहकार्यमा विकासका गतिविधिलाई सहयोग गर्नुः आइजीपी खनाल

प्रहरीको कार्य समुदायसँगको सहकार्यमा विकासका गतिविधिलाई सहयोग गर्नुः आइजीपी खनाल

१९ कार्तिक २०७५, सोमबार १५:२८

मुस्ताङ- प्रहरी महानिरीक्षक आइजीपीले सर्वेन्द्र खनालले नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने प्रहरीको प्रमुख कार्य भएको बताएका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । नवनिर्मित कार्यालय भवनको उदघाटन पश्चात प्रहरी महानिरीक्षक खनालले कार्यालय भवनको निरीक्षण समेत गरेका छन्।

समुदाय-प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षा लगायतका विभिन्न जनचेतनामूलक कार्यहरु मार्फत् शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्यलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले मुस्ताङमा पर्यटकीय स्थलहरु एवम् यातायातको विकास र विस्तारसँगै हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई संवेदनशील र गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा रणनीतिक योजना बनाई काम गरिने बताए । सुरक्षा सचेतना, अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि निर्दिष्ट यस योजनामा अन्य सुरक्षा निकाय एवम् सरोकारवाला पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास उनले व्यक्त गरे ।

४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङल्याम्हो गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको २२ कोठाको उक्त कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

  • 9
    Shares