You are here
Home > समाचार > राजधानीमा नक्कली सुन देखाई ठगी गर्ने समूह सक्रिय, तीन जना प्रहरीको फन्दामा

राजधानीमा नक्कली सुन देखाई ठगी गर्ने समूह सक्रिय, तीन जना प्रहरीको फन्दामा

२० कार्तिक २०७५, मंगलवार १२:२३

काठमाडौं- राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको प्रहरीले बताएको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार नक्कली सुन देखाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गजुरी गाउँपालिका २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोक ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका ३ का राजकुमार तामाङ रहेका रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै बिक्री गरी ठगी गरिरहेको अवस्थामा भक्तपुर चाँगुनारायणबाट पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। एसपी उप्रेतीले उनीहरुको धन्दा नै नक्कली सुन देखाएर मानिस लुट्ने रहेको देखिएको बताए।

उनीहरुले एक किलो सुन ३५ लाखसम्म बेच्ने गरेको खुलेको छ।बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँदेखि ५० लाखसम्म पर्न आउँछ।

  • 11
    Shares