You are here
Home > समाचार > अपराधी पत्ता लगाउन प्रहरीका ७८ ‘सारथि’

अपराधी पत्ता लगाउन प्रहरीका ७८ ‘सारथि’

२५ कार्तिक २०७५, आईतवार ०८:३०

काठमाडौं –नेपाल प्रहरीसँग अहिले ७८ वटा तालिम प्राप्त कुकुर छन्। लागु औषध, विस्फोटक पदार्थलगायत अवैध वस्तु तस्करीदेखि अन्य अपराधमा संलग्न अपराधी पत्ता लगाउन यिनीहरू प्रहरीका सारथि जस्तै हुन् । गत असोजमा पोखरामा १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले २४ घण्टा नबित्दै अभियुक्त पक्राउ गर्‍यो।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका मुख्य अभियुक्त फेला पार्न नसकेर आलोचित बनेको प्रहरीलाई पोखरा प्रकरणले भने केही राहत मिल्यो। पोखरामा प्रहरीलाई सफलता प्राप्त हुनुमा सारथि थियो ‘कुशल’ नामको कुकुर। जर्मन सेफर्ड जातको कुशलले विकको शरीरका कपडा र हत्यामा प्रयुक्त ढुंगा सँघेरै घटनामा संलग्न कुसुम पौडेललाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्‍यो ।

चोरी, हत्या, अपहरण, लुटपाट, डकैती आपराधिक घटनामा प्रहरीले कुकुर प्रयोग गर्दै आएको छ। धेरै घटना पत्ता लगाएकै कारण प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० औं वर्षको दिन कुशलले ‘बेस्ट डग अफ दि इयर’को सम्मान समेत पाएको छ। पोखरामै गत असोज ११ मा भएको ६० वर्षीया श्रीमाया गुरुङको हत्यामा संलग्न अभियुक्तलाई समेत प्रहरीले कुशलकै सहयोगमा पक्राउ गरेको थियो। धानखेतमा लुकेर बसेका श्रीमायाका पतिलाई कुशलले हँसिया सुँघेरै पत्ता लगाएको थियो ।

विनाशकारी भूकम्पमा धेरैको उद्धारका लागि प्रहरीसँग भएको अर्को सारथिको नाम हो, रेस्क्यु। त्यतिबेला गोंगबु क्षेत्रमा पुरिएकाहरूको पहिचानका लागि रेस्क्युले धेरै सहयोग गरेको थियो प्रहरीलाई। रेस्क्युको भूमिका त्यतिमात्रै छैन। सान्जेन हाइड्रोपावरमा कार्यरत इन्जिनियर जगत घिमिरे पहिरोमा हराउँदा पनि उसले खोजीका लागि प्रहरीलाई बाटो देखाएको थियो। प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज्दा पनि घिमिरे फेला परेका थिएनन्। घिमिरेको खोजीका लागि प्रहरीमाथि दबाब थियो। रेस्क्युकै सहयोगमा घिमिरेको शव फेला परेको थियो ।

भुन्टी नामको अर्को कुकुर पनि कुशल र रेस्क्युभन्दा कम छैन। उसले पनि ४ वटा घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई सघाएको खेलेको छ। अहिले नेपाल प्रहरीसँग ४ प्रकारका कुकुर छन्। लागुऔषध पत्ता लगाउने १५, खोजी तथा उद्धारमा प्रयोग हुने १२, अभियुक्तको खोजी र पहिचानमा २० र विस्फोटक पदार्थको पहिचानसँगै भीआईपीको सुरक्षामा खटिने ४० वटा कुकुर रहेको जानकारी प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले दिए। अधिकांश नेपालमै ब्रिडिङ भए पनि केही भारत, अमेरिका, थाइल्यान्डलगायत देशबाट समेत कुकुर ल्याइएको उनले जानकारी दिए ।

प्रहरी कुकुर विद्यालयकी प्रमुख एसएसपी डा.देउती गुरुङ भन्छिन्, ‘छालाका मृत कोशिकाको गन्ध कुकुरलाई सुँघाएर खोजतलास गर्न तालिम दिएका छौं। त्यही आधारमा कुकुर अभियुक्तसम्म पुग्छ ।’ उनका अनुसार घटनाको २४ घण्टाभित्र कुकुर परिचालनको समय उपयुक्त हुन्छ तर घटनास्थल सुरक्षित हुनुपर्छ। प्रहरीसँग अहिले ‘फिलिप’ र ‘सोल’ नामका दुई अमेरिकी कुकुर छन्। यिनीहरूको विशेषता विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउने हो।

यिनीहरूसँगै भारत र नेपालमै ब्रिडिङ भएका भुन्टी, साथी, मारियो, लक्की, जंगे, लैला, गंगा, लियोले पनि अभियुक्त पत्ता लगाउन सारथिको भूमिका खेलेको जानकारी एसएसपी गुरुङले दिइन् ।अन्नपूर्णपोष्ट