You are here
Home > समाचार > कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त रुपमा अघि बढ्दैः गृहमन्त्री थापा

कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त रुपमा अघि बढ्दैः गृहमन्त्री थापा

२६ कार्तिक २०७५, सोमबार १४:१०

म्याग्दी,२६ कार्तिक –गृहमन्त्री रामबहादुर थापाले कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताएका छन्।
बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने जानकारी दिए। उनले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गरे।

गृहमन्त्री थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताएका छन्।उनले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिए।

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताए।

म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रबाट पहिरो, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न सहज हुने बताए।

सूचना प्रविधिको सुविधा उपलब्ध केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने प्रजिअ अधिकारीले जानकारी दिए।

  • 5
    Shares