You are here
Home > समाचार > अवदेखि विमानस्थल प्रहरी हेडक्वार्टर मातहत

अवदेखि विमानस्थल प्रहरी हेडक्वार्टर मातहत

२६ कार्तिक २०७५, सोमबार १७:२०

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरी अब प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)को मातहतमा रहने भएको छ । महानगरीय प्रहरीको मातहतमा रहेको विमानस्थलको प्रहरी अब प्रहरी प्रधान कार्यालयअन्तर्गत रहने भएको हो।

विमानस्थलमा हुने आपराधिक क्रियाकलापसहित विभिन्न तस्करीमा संलग्न हुने गरेका घटना सार्वजनिक भइरहेका बेला प्रहरी प्रधान कार्यालयले गत साता आन्तरिक सर्कुलर जारी गर्दै महानगरीय विमानस्थल सुरक्षा कार्यालयलाई सीधै हेडक्वार्टर मातहत राख्ने निर्णय गरेको हो ।

अबदेखि विमानस्थल प्रहरीले कुनै पनि घटना भए वा सूचना दिनुपरे प्रहरी प्रधान कार्यालयलाई दिनेछ । यसअघि महानगरीय प्रहरी कार्यालयलाई दिने गरेको सूचनामा हेडक्वार्टरलाई थाहा नै नदिई मिलाउने गरेका घटनाहरू सार्वजनिक भएका थिए ।

पछिल्लोपटक देश संघीय संरचनामा गएपछि विमानस्थलाई केन्द्रीय मातहतमा राख्ने परिकल्पना गरिएको छ । यसअगाडि महानगरीय प्रहरी मातहत रहेको विमानस्थल सुरक्षा कार्यालयले अब सीधै प्रहरी मुख्यालयको अपराध अनुसन्धान तथा कार्य विभागमा रिपोर्टिङ गर्नुपर्नेछ । प्रस्तावित संघीय प्रहरी ऐनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई केन्द्रीय प्रहरी मातहत राख्ने परिकल्पना गरिएको छ ।

‘केही कानुनी अड्चनका कारण कतिपय विषयमा महानगरीय प्रहरीसँग समन्वय हुने भएता पनि विमानस्थल सुरक्षा कार्यालयलाई सीधै हेडक्वार्टरको मातहत राख्ने निर्णय भएको छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने, ‘कतिपय कानुनी अड्चन प्रस्तावित संघीय प्रहरी ऐनमा समेटिनेछ ।’

 

  • 15
    Shares