You are here
Home > राजनीति > नेकपाका अध्यक्ष प्रचण्डसहित २४ जनाको टोली स्नानका लागि तातोपानी कुण्डमा

नेकपाका अध्यक्ष प्रचण्डसहित २४ जनाको टोली स्नानका लागि तातोपानी कुण्डमा

२६ कार्तिक २०७५, सोमबार १९:२८

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नशासम्बन्धी रोगबाट थलिएकी श्रीमती सीताको उपचारका लागि सोमबार म्याग्दीको बेनी नगरपालिका-४ स्थित प्राकृतिक तातोपानी कुण्डमा पुगेका छन्।

गृहमन्त्री रामबहादुर थापा बादलको परिवारसहित आएका दाहालले म्याग्दी नदीको किनारमा मुहानबाटै निस्कने ५० डिग्री सेल्सियस तातो पानी संकलन गरिएको पोखरीमा दुई दिनसम्म स्नान गर्ने कार्यक्रम रहेको बताइएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजेट अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका दाहाल र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।

विश्राम, पारिवारिक भ्रमण र स्नान गरेर उपचारका लागि प्रचण्ड म्याग्दी आएका उनका स्वकीय सचिव जोखबहादुर महराले बताए । दाहालको केही समयअघि सिंगापुरको अस्पतालमा उपचार गरिएको थियो । गाडीबाट झरेपछि उनलाई छोरी र सहयोगीले समाएर कुण्डसम्म पुर्याएका थिए।

‘विश्राम र सीता म्याडमको उपचारका लागि अध्यक्ष यहाँ आउनुभएको हो’ महराले भने, ‘यो उहाँको नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण हो ।’ उनीहरुले दिउँसो २ देखि ४ बजेसम्म तातोपानी कुण्डमा स्नान गरेका थिए ।

टोलीमा गृहमन्त्री बादलकी श्रीमती नैनकला थापा, छोरी र ज्वाईँ, प्रचण्डकी छोरी, स्वकीय सचिव महरा लगायत २४ जना छन् ।

म्याग्दी बसाइका लागि उनीहरुले बेनीको याक होटल बुक गरेका छन् । बेनीबाट तातोपानी कुण्ड पुग्न सात किलोमिटर कच्ची बाटो हिड्नुपर्छ । उनीहरुको स्नानका लागि मंगलबारदेखि छुट्टै समय तालिका बनाइने भएको छ ।

सुरक्षा सर्तकता अपनाएर आवश्यक ठाउँमा पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाइएको प्रजिअ लीलाधर अधिकारीले बताए ।

  • 11
    Shares