You are here
Home > समाचार > उपत्यकामा २० हजार चालक कार्वाहीमा

उपत्यकामा २० हजार चालक कार्वाहीमा

२९ कार्तिक २०७५, बिहीबार १२:०१

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कार्वाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कार्वाही गरेको छ ।

विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कार्वाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कार्वाही गरेको हो । आव २०७३\७४ मा १३ हजार २२७, आव २०७४\७५ मा दुई हजार ७१६ र आव २०७५\७६ मा दुई हजार ७५२ जनालाई कार्वाही गरेको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कार्वाहीलाई तीव्रता दिएको बताए ।

‘उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कार्वाही संख्या बढाएका हौं’, उनले भने ।

साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कार्वाही गरिएको महाशाखाले जनाएको छ ।

हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ ।

चालकलाई घरमा चिठी पठाएर कार्वाही

महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कार्वाही गरेको छ ।

विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कार्वाही गर्ने अभियान शुरु गरेको थियो । आव २०७४\७५ मा ५५१ र आव २०७५\७६ को हालसम्म ७७८ जनालाई कार्वाही गरेको हो ।

महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कार्वाही गरेको छ । आव २०७४\७५ मा एक हजार २५३ र आव २०७५\७६ मा ७०५ सवारी चालकलाई कार्वाही गरेको छ ।

महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई रु ५ सयदेखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउँछन् । महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कार्वाही गर्दै आइरहेको छ ।

ट्राफिक उभिएर गर्ने कार्वाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कार्वाही, यात्रुले खबर गरेर गरिने कार्वाही समेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् ।

  • 10
    Shares