You are here
Home > समाचार > सुन तस्करी काण्डः सिलवाल र खेतानलाई धरौटीमा छाड्न आदेश

सुन तस्करी काण्डः सिलवाल र खेतानलाई धरौटीमा छाड्न आदेश

२९ कार्तिक २०७५, बिहीबार २१:१३

विराटनगर-साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेकामध्ये दुईजनालाई उच्च अदालत विराटनगरले बिहीबार धरौटीमा छाड्न आदेश दिएको छ ।

मुद्दाका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान भनिने प्रभात अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त इजलासले अग्रवाल र सिलवालसंग जनही पाँच÷पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अभियुक्तहरु अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालत मोरङको आदेश रितपूर्वक नभएकोले धरौटीमा बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

अदालतको आदेशपछि उनीहरु धरौटी रकम बुझाएर रिहा भएका छन् ।