You are here
Home > समाचार > सेनाका शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण चेकजाँचका लागि मुख्यालयमा पठाउन सुरु

सेनाका शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण चेकजाँचका लागि मुख्यालयमा पठाउन सुरु

३० कार्तिक २०७५, शुक्रबार १८:४३

काठमाडौं-नेपाली सेनाका अधिकृतदेखि माथिका सबैले शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण पुनः सैनिक मुख्यालयमा पठाउन सुरु गरेका छन् । एकसाता अघि मुख्यालयले सबै शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मुख्यालयमा पठाउन मातहतका सबै निकायलाई पत्रचार गरेको थियो ।

सेनामा नक्कली प्रमाणपत्र पेस गरेर लामो समय जागिर खाएको भन्ने प्रमाणहरू भेटिन थालेपछि त्यसमाथि छानबिन सुरु गर्न यस्तो प्रक्रिया अपनाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको आदेशमा सेनाले देशैभरका सबै अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाणपत्र माग भएको स्रोतले जानकारी दिएको छ ।

थापाले सेनामा भ्रष्टाचार नियन्त्रणका लागि सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरूको छानबिन गर्ने, फास्टट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताइसकेका छन् । प्रधानसेनापति थापाको निर्देशनपछि सैनिक सचिवको कार्यालयले मातहतका सबै निकायमा लिखित पत्रचार गरेको हो ।

केन्द्रको पत्रचारअनुसार देशभरी रहेका पृतना तथा गुल्म लगायतले मातहतमा रहेका अधिकारीलाई जानकारी गराई प्रमाणपत्र संकलन कार्य सुरु गरेका हुन् । सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सबै सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र अपडेटका लागि पत्रचार गरिएको जानकारी दिए । उनले भने, ‘यो नियमित प्रक्रिया हो, अहिले पनि हामिले सबै अधिकृतहरूको विवरण माग गरेका छौँ ।’

  • 47
    Shares