You are here
Home > समाचार > काठमाडौँको गोकर्णेश्वरमा नगर सुरक्षा समिति गठन

काठमाडौँको गोकर्णेश्वरमा नगर सुरक्षा समिति गठन

१ मंसिर २०७५, शनिबार १०:१८

काठमाडौँ- नागरिक र प्रहरीबीच समन्वयात्मक रुपमा घरेलु हिंसा, लागुऔषध नियन्त्रणलगायत शान्तिसुरक्षा कायम गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिकास्तरीय सुरक्षा समिति गठन गरिएको छ ।

नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त आयोजनामा नगर कार्यपालिकाको सभाकक्षमा आयोजित नगरस्तरीय भेलाले नगरप्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ४३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा उपप्रमुख शान्ति नेपाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल रहनुभएको छ । सदस्यसचिवमा वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द, सदस्यमा नौ वटै वडाका अध्यक्ष, नगरपालिकाका प्रशासकीय अधिकृत दीपक कोइराला, नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

कार्यक्रमनगरप्रमुख चालिसेले समाजमा शान्तिसुरक्षा कायम राख्न नागरिक र प्रहरीबीच हातेमालो हुनुपर्नेमा जोड दिए । वृत्तका प्रहरीप्रमुख चन्दले बर्दी लगाएका प्रहरीलाई बिना बर्दीका प्रहरी मानिने सचेत नागरिकबाट सहयोग र समन्वय हुनुपर्ने बताए ।

समितिले वडा, टोल र विद्यालयस्तरीय सुरक्षा समिति गठन गर्ने जनाइएको छ । वडा सुरक्षा समितिको संयोजक वडाध्यक्ष रहने सो अवसरमा जानकारी गराइयो ।