You are here
Home > समाचार > प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने विषयमा पूर्वप्रहरी अधिकारी मुख खोलेरै बोल्छन्, प्रहरी संगठन भने मौन

प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने विषयमा पूर्वप्रहरी अधिकारी मुख खोलेरै बोल्छन्, प्रहरी संगठन भने मौन

४ मंसिर २०७५, मंगलवार १४:२१

काठमाडौं –प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने निर्णयले प्रहरी भित्र हलचल मचिए पनि कुनै प्रतिक्रिया सार्वजनिक भने हुन सकेको छैन।

सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तारका लागि भन्दै प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरको छ। पूर्वप्रहरी अधिकारी भने यस बारे सार्वजनिक ठाउँमै खुलेर बोल्न थालेका छन्।

राष्ट्रपति निवास बढाउन महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयको पूर्वमहानिरीक्षक, पूर्वगृहसचिव, पूर्वगृहमन्त्रीलगायतले विरोध गरेका छन् ।पूर्वमहानिरीक्षक खडगजित बरालले सरकारको निर्णय उचित नभएको भन्दै आपत्ति जनाएका छन् ।

‘सात दशकदेखि नेपाल प्रहरीको व्यावसायिक प्रमुख ज्ञान मन्दिरका रूपमा रहेको प्रतिष्ठान’ सार्ने निर्णयलाई उनले हलो काटी मुंग्रो बनाउने ‘कुसोच’को संज्ञा दिएका छन् । यो निर्णयले पूर्व र बहालवाला हजारौं प्रहरीको मर्ममा आघात पुर्‍याएको उल्लेख गरेका छन् । सरकारको यो निर्णयलाई ‘अदूरदर्शी र हचुवा’ भन्दै उनले सच्याउन आग्रह गरेका छन् ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर गोविन्द थापाले भने एक सार्वजनिक कार्यक्रममा मुख खोलरै बोले। उनले प्रहरीको गरिमामय ठाउँलाई राष्ट्रपतिको निवास र हेलिप्याडको प्रयोगका लागि उपयुक्त नहुने बताए। राष्ट्रपतिकै लागि चाहिने हो भने तत्कालिन राजदरवार प्रयोग गरे भइहाल्यो उनले भने, ‘प्रहरीकै जमिन आँखा गाड्नु भन्दा राष्ट्रपति निवास र हेलिप्याडका लागि राजदरवार (हाल संग्राहलय) रहेको घरलाई राष्ट्रपति म्यूजियम बनाए त भै हाल्यो।’

राजदरवारको जमिन ठूलो छ, नेपाली सेनाको व्यारेक राख्न पनि सजिलो, सुरक्षाका दृष्ट्रिकोणले पनि उपयुक्त राजदरवार (हाल संग्रालय) भएको ठाउँ नै उपयुक्त रहेको उनले सुझाव समेत दिएका छन्। प्रहरी संगठन भने मन्त्रिपरिषद्को निर्णयका विषयमा बोल्न सकेको छैनन्।

तर बोल्न नसकेपनि प्रहरीभित्र एक किसिमको हलचल भने मच्चिएको छ। भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको महत्वपूर्ण निकाय मानिएको प्रतिष्ठान काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो ।

२०४९ सालमा स्थापना भएको राष्ट्रपति प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरीमा अफिसर उत्पादन गर्नेदेखि अपराध अनुसन्धानको अध्ययन अध्यापनको महत्वपूर्ण निकायको रुपमा मानिन्छ। राष्ट्रपतिको हेलिप्याडका लागि जुनसुकै समयमा पनि ग्राण्उड खाली गरेको प्रहरी अधिकारीको भनाई छ। प्रहरी प्रतिष्ठानको क्षेत्रफल १ सय ९३ रोपनी रहेको छ ।